सोमवार, माघ ७, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • नेपाल युएई संयुक्त समिति बैठकः नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

नेपाल युएई संयुक्त समिति बैठकः नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड


कान्तिपथ


नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नुहुने बताइएको छ ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । बैठकमा नेपाल र युएईबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनबारे समीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ । यस्तै यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयन पक्षमा पनि छलफल गरिने भएको छ । बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल गरिने भएको छ । पर्यटन प्रवेशाज्ञामा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

युएईको भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताका क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न विषयमा छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले पर्यटन प्रवेशाज्ञा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे आफ्ना समकक्षीसँग छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार युएई प्रस्थान गरेको थियो । आबुधावीस्थित विमानस्थलमा नेपाली प्रतिनिधिमण्डललाई युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गर्नुभएको थियो । बुधबार मन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजना हुने नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपायबारे नेपाली समुदायसँग छलफल गर्नुहुने बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत