माओवादी केन्द्रका चारजना कार्यकर्ताले कुलोको समिति बनाउने भनेर झुक्याउँदै आफूहरुलाई एमालेमा प्रवेश गराएको दाबी गरेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति बनाउने भनेर हस्ताक्षर गराएको कागजबाट एमाले प्रवेश गराएको भन्दै माओवादी कार्यकर्ताले आपत्ति जनाएका हुन्।
‘२६ फागुनमा तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीलाई बोलाइयो। त्यहाँ कुलोको समिति भनि सीताराम चौधरीको नेतृत्वमा एउटा समिति बनाइयो। तर, पछि एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,’ उनीहरुले भनेका छन्, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेका छौँ। अहिले पनि माओवादीमै रहेको कुरा जानकारी गराउँछौँ। एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले विश्वास नगर्न हुन अनुरोध गर्दछौँ।’
उनीहरुले आफूहरु अहिले पनि माओवादीमै रहेको बताएका छन्। माओवादी कार्यकर्ताहरु सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले विज्ञप्ति नै निकालेर आफूहरू एमालेमा नगएको बताएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ