नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले पनि माओवादी पार्टी त्यागेको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।
सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् । माओवादी स्रोतका अनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए ।
उनले लेखेका छन्– आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।
शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए । उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर, उनी पराजित गरेकी थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ