
एसएसपी सिंहलाई किन भयो कारबाही सिफारिस: मिटरब्याजी र जग्गा दलालीले फसाएका हुन् ?
चेक फिर्ता गरेको विषयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा २ करोड २९ लाख रुपैयाँ रहेको चेक तीन महिना राखेर फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो।
डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको हो। सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए। छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य थिए ।
गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो। मदिरा पिएर तास खेल्ने क्रममा आफ्नो चेक हराएको र झापाको सुवास भेटवालले लगेको उजुरीमा उल्लेख छ।
बैंक अफ काठमाडौं कमलादी शाखाको ७ थान चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। उजुरीपछि भेटवाललाई बोलाएर अनुसन्धान गर्दा ७ थान चेकमा २ करोड २९ लाख रुपैयाँ रकम भरेको पाइएको थियो। भेटवालले तास खेल्ने क्रममा उक्त चेक बराबरको रकम जितेको बताएका थिए।
घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ प्रहरीले अनुसन्धान नगर्नु गलत भएको छानबिन समितिको निष्कर्ष छ ।
एसएसपी सिंहले भने केही बिचौलियाहरुले उद्देश्य पूरा गर्न नसकेर आफ्नो बदनाम गराउन लागेको प्रतिक्रिया दिएका थिए।
केहि समय अघि कन्त्तिपथसँग कुरा गर्दै एसएसपी सिंहले भने, ‘राजकुमार बरालले चेक आफैँ इस्यु गरेको रहेछ, उसले चेक दिएको सीसीटीभी फुटेज पनि छ, उसले चेक नष्ट गर्न खोजेको थियो, त्यो नपाइसकेपछि मेरो बदनाम गर्न खोजिएको हो।’
आफूलाई पीडित बताउने बराल समेत मिटरब्याजी, जुवा खेलाउने र जग्गा दलाल रहेको एसएसपी सिंहले बताए। आफूले सुरुदेखि नै यसमा भएका सबै कामबारे माथिल्लो निकायमा जानकारी गराएको र माथिको आदेशअनुसार नै काम गरेको एसएसपी सिंहको भनाइ छ।