जनकपुर, ९ चैत । मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा शहिद भएका महोत्तरीका १२ जना शहिद परिवारलाई आज नगद आर्थिक सहयोगसँगै सम्मान गरेको छ ।
मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा संयुक्त रुपमा आज महोत्तरीको खैरमारामा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह र नेकपा माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादवले शहिद परिवारलाई रु. एक÷एक लाखको चेकसहित सम्मान गर्नुभयो ।
चेक हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री मात्रिका प्रसाद यादवले जनयुद्धको बलमा प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्ने षडयन्त्र भईरहेकाले सचेत हुनुपर्ने बताउनुभयो ।
जनयुद्धकै बलमा संघीयता, धर्मनिरीपेक्षता, समाबेशीता लगायतका उपलब्धीहरु प्राप्त भएको बताउनुहुँदै त्यसलाई समाप्त पार्न बिभिन्न देशी बिदेशी शक्तिहरु षडयन्त्रमा लागेको बताउनुभयो ।
‘‘जनयुद्ध नभएको भए मुलुकमा यि परिवर्तनहरु हुने थिएन्” नेता यादवले भन्नुभयो,‘‘ जनयुद्ध भयो, त्यसमा थुप्रैले बलिदानी दिए र आज मुलुकमा यि परिवर्तन भएका छन् ।” अहिले माओवादीलाई कमजोर बनाउने र उपलब्धीहरुलाई समाप्त पार्ने तत्वहरुले षडयन्त्र गरिरहेका छन्, तिनीहरुका बिरुद्ध जनताहरु खबरदारी गर्नु जरुरी छ, उहाँको भनाई थियो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जनयुद्ध र मधेश आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश सरकारले जीविकोपार्जनका लागि आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याइसकेको बताउनुभयो ।
जनयुद्धका सहिद परिवारलाई पनि रु. तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा रु.एक÷एक लाख र दोश्रो चरणमा बाँकी रकम प्रदान गरिने मन्त्री साहले जानकारी दिनुभयो ।
यसअघि मधेश प्रदेश सरकारले गत फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरी ४० जना जनयुद्धका शहिद परिवारलाई र फागुनको तेश्रो साता सप्तरीका १२ जना जनयुद्धका शहिद परिवारलाई पनि रु. एक÷एक लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ