सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद छुट दिने फैसलाविरुद्धको निवेदनबारे बिहीबार सुनुवाइ हुने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले दिएको पुनरावेदन निवेदन बिहीबार पूर्ण इजलासमा पेसी तोकिएको हो। न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको इजलासमा पेसी तोकिएको हाे।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा झारेको थियो। कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए। कोइरालालाई जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले भने सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए।
तर महान्यायाधीवक्ताको कार्यालयले सर्वाेच्चको यो फैसला नजिर एवम् कानुनी सिद्धान्तप्रतिकूल भएको भन्दै त्यसै दिन पुनरवलोकनका लागि निवेदन दिएको थियो।
डीआईजी पदमा बहाल रहेकै बेला ९ वर्ष पहिले कोइरालाले श्रीमतीको हत्या गरेर शव टुक्राटुक्रा पारेर मकवानपुरको जंगलमा लगेर जलाएका थिए। बिहीबारका लागि पेसी चढे पनि यो मुद्दामा सुनुवाइ हुने सम्भावना भने कम छ। उक्त मुद्दाकाे पेसी इजलासको अन्तिम अर्थात् १७औं नम्बरमा छ।
कोइरालाले २७ पुस २०६८ मा श्रीमती गीता ढकाललाई आफ्नै घरमा हत्या गरी मकवानपुरको पालुङ लगेर शव जलाएका थिए । हत्या गरी जलाएको स्थानमा उनी फेरि ८ माघ २०६८ मा पुगेका थिए । पालुङबाट फर्कँदै गर्दा कोइराला नागढुंगा चेकपाेस्टबाट पक्राउ परे । उनले श्रीमतीको हत्या गर्नुको पछाडि प्रेमी भनिने तारा रेग्मी रहेको जनाइएको थियो । तारालाई समेत प्रहरीले पक्राउ गरेर अदालत पेस गरेको थियो । उनी एकलाख धरौटी तिरेर छुटेकी थिइन् ।
जिल्ला अदालत काठमाडौंले कोइरालालाई भने जन्मकैद फैसला सुनाएको थियो । ललितपुरको धोबीघाटस्थित रेडरोज इन्टरनेसनल मेनपावर सञ्चालन गर्दै आएकी चितवनकी तारा रेग्मी र डीआईजी कोइरालाबीच प्रेम सम्बन्ध थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ