नेपालको औपचारिक भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले आज (शनिबार) दिउँसाे औपचारिक भेटवार्ता सुरु गर्दै छन्।
उनले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटेर भेटवार्ता सुरु गर्नेछन्। यसअघि बिहान भने उनी हाइकिङका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएका छन्।
यस्ताे छ भ्रमण-तालिका :
शनिबार
वाङ र मन्त्री खड्काबीच १५ मिनेट एक्लाएक्लै वार्ता
चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. खड्काबीच शनिबार दिउँसो ३:३० देखि ३:४५ सम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता हुनेछ। मन्त्री खड्का र वाङबीच प्रधानमन्त्री कार्यालयमा वार्ता हुन लागेको स्रोतले जनाएको छ।
वाङ र खड्काबीच प्रतिनिधिमण्डल स्तरमा भेट
परराष्ट्र स्रोतका अनुसार एकल भेटवार्तापछि परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच शनिबार अपराह्न ३:४५ देखि ५:४५ सम्म प्रतिनिधिमण्डल स्तरमा छलफल हुनेछ। यसपछि ५:१५ देखि ५:३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे-केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो।
प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन्। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल हुनेछन्।
प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने
परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डल स्तरमा वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्।
साँझ ५:४५ देखि ६:१५ सम्म उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्। लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरिनेछ। पोखरा विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हो।
परराष्ट्रमन्त्री खड्काले रात्रिभोज दिने
परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्।
आइतबार
आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसअघि उनी बौद्धस्थित हायात८८ पुग्नेछन्।
ओली र प्रचण्डसँग हायातमा भेट्ने
स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई होटल हायातमा आइतबार भेट्ने कार्यक्रम छ।
बिहान ११:१० देखि ११:४० सम्म पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीले होटल हायातमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। चिनियाँ विदेशमन्त्री वाङले अन्तिममा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। उनले ११:४५ देखि १२:१५ सम्म प्रचण्डलाई होटल हायातमा भेट्नेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ