नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको आरोप लगाएका छन्।
आज यहाँ शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन।’
ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपरी ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप छ।
प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र रकम दिने गरिएको दाबी गरे। कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको आरोप उनले लगाए।
उनले ओली सरकारका पालमा कैयौँ अनियमिता भएका र जसका कारण देश आर्थिक रूपमा तहसनहस हुन पुगेको आरोप लगाए।
भ्रष्टाचार, अनियमितता तथा कम्युनिस्ट सरकारका अनेक ज्यादतीका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार बनेको दाबी उनले गरे।
उनले आगामी सबै निर्वाचनमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने दाबी गर्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह पनि गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ