नाबालिग गायिका बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा राखिएका अभिनेता पल शाहले थुनामुक्त गर्न माग गर्दै मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।
तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको अभिनेता शाह पक्षका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। शाहलाई धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरिएको उनले बताएका छन्।
के छ दाबी ?
–पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गरेको जिकिर
–जाहेरी ढिला पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरू सँगै काम गर्नु, घुमफिर गर्नुलगायत गतिविधिले बलात्कार नभएको पुष्टि भएको दाबी
गत बिहीबार जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। आदेशअनुसार उनलाई त्यही रात तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतबाट जिल्ला कारागार लगिएको हो।
अभिनेता शाहका म्यानेजर कृष्ण जोशीलाई भने अदालतले धरौटीमा छाड्न आदेश दिएकाले उनी धरौटी बुझाएर त्यही दिन रिहा भएका छन्। जोशले पीडितलाई कानुनी उपचारमा अवरोध गरेको अभियोग छ।
अभिनेता शाहविरुद्ध जिल्ला अदालत पूर्व नवलपरासीमा पनि उनै पीडितले बलात्कार आरोपमा मुद्दा दर्ता गराएकी छन्। त्यहाँ थुनछेक बहस हुन बाँकी छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ