मङ्लबार, बैशाख ९, २०८२

एमाले एक्लै एक क्विन्टलको ढक, गठबन्धन एक/एक केजीका पाँचवटा ढक: केपी ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेर आफूहरुसँग एक्लै लड्न नसकिने स्वीकारेको बताएका छन्। भक्तपुरको सूर्यविनायकमा एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको तरकारी बजारको बुधबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई एक एक केजीको ढकको पनि संज्ञा दिएका छन्। ‘गठबन्धनमा रहेका पाँच दल भनेका एक एक केजीका ढक हुन्। तर एमाले एक्लै एक क्विन्टलको ढक हो। अब पाँच केजीको ढक र एक क्विन्टलको ढक दुई पटी राखेर जोख्दा तुलनै हुन सक्दैन नि! उनीहरुले एमालेसँग भिड्न गठबन्धन गरेरै आउनुपर्छ।’

उनले बच्चाहरूसँग एमालेलाई लड्न पनि समस्या हुने बताए। ‘हामीलाई साह्रै बच्चा भयो भने लड्न गाह्रो हुन्छ। बच्चाहरूसँग निहुरिएर लड्न सकिन्न’, उनले भने, ‘एउटाको काँधमा अर्को चढ्छ। लोभीपापीको गठबन्धन कति गाह्रो छ। गठबन्धनले एकै दिन मनोनयन गर्न सक्दैन भनेर दुई दिन राखिएको छ। एक हप्ता गराए पनि के भो र मनोनयन नै हुने होला।’

ओलीले गठबन्धन गरेर पनि एमालेसँग लड्न गाह्रो रहेको बताए। ‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्नु भयो। तर गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ’, उनले भने, ‘एमाले एक्लैले गठबन्धनलाई यो कुरा सिकाउनेछ।’​

प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।

सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए । उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

उनले भने, ‘न्यूनतम राजनीतिक नैतिकता पनि नराखी टाउकोको मूल्य तोक्ने वर्गसत्रुसँग घाँटी जोड्नेलाई मैले धेरै टिप्पणी गर्नु छैन, उनीहरूलाई जवाफ दिन प्रकाश सपूतको गीतका १६ मिनेट नै काफी छन् । राज्यकोषबाट अनुदान लिएका असफल वाख्रापालक थापाकाजी र बर्दिबासमा सर्प पाल्ने खनाल बाजेहरू गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न खोजेका प्रचण्ड, १५ वर्ष पार्टी हाँक्दा पार्टीलाई घर न घाटको बनाउने कम्युनिष्ट पार्टीमा अपमान…. भयो भनेर गधाको पुच्छर समातेर गंगा नदी तर्न हिँडेका माधव नेपाल बाजे आगामी निर्वाचनमा एक्लाएक्लै आउनुस्, उनीहरू कहाँ छन् भनेर हेर्न निर्वाचनपछि केपी शर्मा ओलीले बनाएको धरहराको सबैभन्दा माथ्लो तलाको बार्दलीमा चढ्नुपर्ने हुन्छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत