नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि १६ वर्षमै पेन्सन पाउने व्यवस्था गर्न लागिएको छ। प्रहरी प्रधान कार्यालयले १६ वर्षेमै पेन्सन पाउने व्यवस्था गर्नका लागि अगाडि बढाएको प्रस्तावमा गृहमन्त्री वालकृष्ण खाणले सहमति जनाएका छन्।
गृहमन्त्री खाणको सहमतिसँगै उक्त प्रस्तावको सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालय पठाउने तयारी गरिएको छ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि उक्त प्रस्तावलाई मन्त्रिपरिषद्मा लगिने छ। मन्त्रिपरिषद्ले प्रस्ताव पास गर्ने निर्णय गरेमा कार्यान्वयनमा आउने छ।
सशस्त्र प्रहरीमा २०६० चैत २६ गतेभन्दा पछि भर्ना भएकाहरुको पेन्सन अवघि २० वर्ष बनाइएको थियो। अब भने दर्जाअनुसार १६ देखि २० वर्षे पेन्सन अवधि बनाउने प्रक्रिया सुरु गरिएको छ। जसअनुसार सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी महानिरीक्षकसम्म २० वर्ष, सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)देखि सशस्त्र प्रहरी वरिष्ठ निरीक्षक (वरिष्ठ सई) सम्मको १८ वर्ष र सशस्त्र परिचरदेखि वरिष्ठ हवल्दारसम्मको १६ वर्षे पेन्सन अवधि बनाउने प्रक्रिया सुरु गरिएको हो।
यद्यपि, २० वर्ष सेवा अवधि नपुग्दै सशस्त्र प्रहरी सेवाबाट अवकाश लिने प्रहरी कर्मचारीले सशस्त्र प्रहरी सेवामा नियुक्ति भएको मितिले २० वर्ष पुरा गरेको मितिबाट मात्र निवृत्तिभरण वापतको रकम प्राप्त गरिने व्यवस्था लागू गर्न लागिएको छ।
सशस्त्र जस्तै प्रहरीमा पनि १६ वर्षदेखि २० वर्षसम्मको पेन्सन अवधि बनाउन लागिएको छ। प्रहरी नियमावलीको नियम ३१३ मा संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने तयारी सुरु भएको हो।
प्रहरीमा पनि सशस्त्रको जस्तै प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक सम्मको २० वर्ष, असईदेखि वरिष्ठ सईको १८ वर्ष र कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मको १६ वर्ष पेन्सन अवधि बनाउन लागिएको छ। तर, १६ वर्षमै पेन्सन पाउने व्यवस्था भएपनि सेवा गरेको २० वर्ष नपुगी निवृतिभरण नपाइने व्यवस्था बनाउन लागिएको छ।
प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मका सबैको पेन्सन भने २० वर्षमै कायम हुनेछ। २०६० चैत २६ गतेपछि प्रहरीमा भर्ना भएर त्यसभन्दा पछि नेपाल प्रहरी सेवामा नियुक्त हुने प्रहरीले यो सुविधा पाउनेछन्।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले यो प्रस्ताव गृह मन्त्रालयमा पठाएको तर त्यसपछि प्रक्रिया कहाँ पुगेको भन्ने जानकारी नभएको बताए। ‘हामीले प्रस्ताव गरेका हौँ, त्यसपछि गृह मन्त्रालयबाट अरु प्रक्रिया बढ्दै होला’, केसीले कान्तिपथसँग भने।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ