सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ। बलात्कारको झुटो उजुरी दिएको अभियोगमा अछाम जिल्ला अदालतले १९ वर्षकी एक किशोरीलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उजुरीकर्ता किशोरीविरुद्ध नै सजायको फैसला सुनाएको हो।
२०७८ माघ १५ गते आफूसँग विवाह गर्न भनेर घरमा माग्न आएका युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका २० का ती युवकले बलात्कार गरेको भन्दै किशोरीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।
तर, मुद्दाको पुर्पक्षका क्रममा सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको अदालतको ठहर छ। युवकलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै अदालतले किशोरीलाई नै कैद सजायको फैसला सुनाएको हो।
‘मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा(१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने र जाहेरीकर्तालाई झुट्टा जाहेरी दिएर प्रतिवादीलाई झुटा मुद्दामा फसाउने प्रयत्न गरे वाफतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा(२) को देहाय (क) बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर्छ,’ अदालतले फैसलामा भनेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ