बिहिबार, बैशाख ६, २०८१

बैतेश्वरमा चुनावी सरगर्मी बढ्यो: कुन पार्टीबाट को-को दाबेदार ?


कान्तिपथ


स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको बैतेश्वर गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रलगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् ।

१७ हजार ४६५ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा काँग्रेस विजयी भएको थियो । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेस र माओवादीको छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ । दोलखाको अन्य पालिकाको तुलनामा एकीकृत समाजवादीको उपस्थिति बलियो बैतेश्वर गाउँपालिकामा छ । बैतेश्वरका ८ वटा वडामध्ये कांग्रेसले ४ वटामा एमालेले ३ वटा र माओवादी केन्द्रले १ वडामा जितेका छन् ।

कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । यसमा सबैभन्दा अगाडि काँग्रेस-माओवादी कै स्थानीय नेताहरु रहेका छन् ।

हालसम्म काँग्रेसबाट जिल्ला सभापतिमा पराजित तारा खड्का, वर्तमान अध्यक्ष तथा जिल्ला उप-सभापति छवि लामा, राजु उप्रेती, क्षेत्रिय सभापति शुक्र लामा, तारा खड्का प्यानलबाट जिल्ला उपसभापतिका उम्मेदवार छवि लामा (सानो) लगायत आकांक्षी रहेका छन् । काँग्रेस दोलखा बर्मा लामा र तारा खड्का समूहको रुपमा विभाजित रहेकाले आन्तरिक सन्तुलन मिलाएर उम्मेदवार चयन गर्न सकस रहेको स्थानीय नेताहरु बताउँछन् ।

गाउँपालिका अध्यक्षमा दाबी गर्ने तारा खड्का सिटौला प्यानलबाट ४८५ भोट ल्याएर जिल्ला सभापतिमा पराजित बनेका थिए । वर्तमान पालिका अध्यक्ष छवि लामा नै पालिका अध्यक्षको लागि कांग्रेसबाट बलियो दाबेदार हुन् तर उनको छवि भने त्यति लोकप्रिय छैन । राजु उप्रेती पुराना कांग्रेसी नेता हुन् भने शुक्र लामा विवादित पृष्ठभूमीबाट आएका हुन् । उनि जसरी पनि छवि लामालाई रोक्नु पर्ने पक्षमा छन् भने उनकी श्रीमती पनि एमालेबाट पालिका उपाध्यक्षमा दाबेदार छिन । अर्का सानो छबि लामा यसपाली टिकट नपाए बागी भए पनि उम्मेदवार बन्ने सोचमा छन् । वडा नं १ मा १६१७ र वडा नं २ मा १४६० एकलौटी भोट हालेको कांग्रेस अहिले २ जना छवि र शुक्र लामाको अन्तर्द्वन्द र एकअर्कालाई नस्वीकार्ने स्थितिमा पुगेको हुँदा विभाजित छ ।

अघिल्लो निर्वाचनमा लामाले ७१२९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ऋषिकेश उप्रेतीले ५००८ मत प्राप्त गरे । अहिले पनि उप्रेती एमालेबाट गाउँपालिका अध्यक्षका दाबेदार हुन् तर अघिल्लो निर्वाचनमा बैतेश्वर ४ मा एकलौटी १६६७ हालेको एमाले भन्दा समाजवादी उक्त वडामा बलियो छ । एमालेबाट पुर्व गाविस अध्यक्ष माधव प्रसाद घिमिरे, माओवादी पृष्ठभूमीबाट आएका केशव चौलागाईं पनि बलिया दाबेदार हुन् । एमालेबाट माधव प्रसाद घिमिरे सबै भन्दा बलिया दाबेदार हुन् । एमालेमा अनेरास्वबियूका केन्द्रिय उपाध्यक्ष उमेश आचार्य पनि दाबेदारको रुपमा हेरिन्छन। यद्धपि एमालेले गठबन्धनको छलफल चलाएको छ जसमा एमाले नेता पार्वत गुरुङ्ग पनि लचक छन् । एमालेले बहुमत वडा लिनेले उपाध्यक्ष र अध्यक्ष लिनेले अल्पमत वडा लिने प्रस्ताव गरेको बुझिन्छ ।

अघिल्लो निर्वाचनमा उपप्रमुखमा माओवादी केन्द्रका रविचन्द्र आचार्य ७, ५११ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ति तामाङले ४,४२३ मत प्राप्त गरिन् । उपाध्यक्ष जितेका आचार्य अध्यक्ष उठ्ने मुडमा छैनन् । माओवादीबाट पालिका अध्यक्षमा जिल्ला सह-इन्चार्ज पर्शुराम रिमाल, प्रस्तावित पालिका इन्चार्ज लक्ष्मण खड्का, नेता सुब्बा श्रेष्ठ र पार्टीका पालिका अध्यक्ष भिमबहादुर श्रेष्ठ बलियो दाबेदारको रुपमा देखिएका छन् । अघिल्लो निर्वाचनमा वडा नं ८ मा वडा अध्यक्ष जिताएको माओवादी ४ वटा वडामा दोश्रो भएको थियो। आन्तरिक समीकरण मिलाउन नसक्दा वडा नं ३ मा थोरै मतले हारेको माओवादी वडा नं ७ मा एमालेले बुथ कब्जा गर्दा हार्न पुगेको थियो ।

जिल्लाको अरु पालिकाको तुलनामा बैतेश्वरमा अलि बलियो उपस्थिति देखाएको एकीकृत समाजवादीबाट अध्यक्षमा पार्टीका जिल्ला अध्यक्ष भिमप्रसाद दाहाल एकल दाबेदार हुन् । वडा नं ४ मा सशक्त र ७ मा अलिअलि संगठन भएको समाजवादी जिल्ला उपाध्यक्ष भुवन केसी नै एमाले प्रवेश गरेपछि हच्किएको छ । दाहाल माओवादीलाई उपाध्यक्ष प्रस्ताव गरेर आफु अध्यक्ष लिने सोचमा छन् तर पछिल्लो समय आक्रामक संगठन विस्तार गरेको माओवादीले अध्यक्ष दिने शर्तमा कुनै गठबन्धन नहुने सिग्नल दिएको छ । पार्टी प्रवेश गराउन गैरीमुदी पुगेका वन तथा वातावरण मन्त्री विशाल खड्काले पनि बैतेश्वरमा माओवादी सिंगल सिंगल चुनाव लड्नु पर्ने बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत