शुक्रबार, फाल्गुन २, २०८१

अछाम र चितवनका सबै वडामा एमाले विरुद्ध गठबन्धन गर्ने निर्णय


कान्तिपथ


सत्तारुढ गठबन्धनका यहाँस्थित ३ दलले स्थानीय चुनावमा नेकपा एमालेविरुद्धको गठबन्धनमा ऐक्यबद्धता जनाएका छन् । केन्द्रमा भएको गठबन्धनलाई आत्मसात गर्दै जिल्लाको १० वटै स्थानीय तह र ९१ वटा वडाहरूमा गठबन्धन गरेर अघि बढ्ने उनीहरूले निर्णय गरेका हुन् ।

नेपाली काग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका संयोजक रविन्द्र साउँद र नेकपा एसका अध्यक्ष हिरण्ड भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपालको वर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दै केन्द्रमा जस्तै अछाममा पनि स्थानीय चुनावमा गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न अनुरोध गरेका छन् ।

सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको उल्लेख छ ।

कांग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने छन् । दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १÷१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत