आइतवार, माघ ६, २०८१

गौरीशंकरमा स्थानीय निर्वाचन: माओवादी र एमालेको प्रतिष्ठाको लडाई !


कान्तिपथ


स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको गौरीशंकर गाउँपालिकामा चुनावी माहोल र कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् ।

१५ हजार ३४१ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा एमाले विजयी भएको थियो । दोलखाको राजनीतिको बागडोर र शक्तिकेन्द्र गौरीशंकर नै भएकोले आफू नै विजयी हुने दाबी एमाले, काँग्रेस र माओवादीको छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत गोजाउनु पर्ने चुनौती छ। दोलखाको अन्य पालिकाको तुलनामा एकीकृत समाजवादीको उपस्थिति कमजोर गौरीशंकर गाउँपालिकामा छ । गौरीशंकरका ९ वटा वडामध्ये कांग्रेसले १ वटामा एमालेले ६ वटा र माओवादी केन्द्रले २ वडामा जितेका थिए ।

कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । यसमा सबैभन्दा अगाडि एमाले-काँग्रेस-माओवादी कै स्थानीय नेताहरु रहेका छन् । एमालेका नेता पार्वत गुरुङ, माओवादीका नेताहरु गंगा कार्की, देवी खड्का, विशाल खड्काको गृह पालिका भएकोले पनि गौरीशंकरको चुनाव प्रतिष्ठाको विषय बनेको छ ।

अघिल्लो निर्वाचनमा एमालेले सबै नेता-कार्यकर्तालाई मुद्धा चलाए पछि माओवादीका नेताहरु चुनावमा सक्रिय हुन् पाएका थिएनन् । गौरीशंकरको निर्वाचनमा २ पुर्व मन्त्री र एक वहालवाला मन्त्री आमनेसामने हुनेछन ।

२०७४ मा एमालेका स्वयम् बहादुर खड्काले ४२४९ मत ल्याएर माओवादीका निमा लामालाई पराजित गरेका थिए तर प्रदेश कमिटीमा नपरेको असन्तुष्टिमा लामा एमालेमा प्रवेश गरिसकेका छन् । लामाले माओवादीको तर्फबाट ३४४० मत ल्याएर दोश्रो भएका थिए । यसपाली पनि स्वयम् बहादुर खड्काले चुनाव लड्न चाहेका छन् । खड्का बाहेक एमालेबाट जंग बहादुर गुरुङ गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । पार्वत गुरुङले समेत रुचाएका गुरुङ एमालेबाट लगभग एक्लो दाबेदार जस्तो देखिन्छन ।

अघिल्लो चुनावमा एउटा वडा जितेको कांग्रेसबाट श्याम सुन्दर तामाङ्ग पनि लगभग एक्लो दाबेदार झैँ देखिन्छन । गत स्थानीय निर्वाचनमा उपाध्यक्ष उठेर ३२२४ मत ल्याएर पराजित कमल विक्रम खड्का पनि कांग्रेसबाट पालिका अध्यक्षका दाबेदार हुन् ।

यता माओवादी केन्द्रबाट प्रभातजंग कार्की, छिरिङ्ग शेर्पा र विश्वास कार्की बलिया दाबेदारको रुपमा हेरिएका छन् । जनयुद्धकालिन पृष्ठभूमिका दुवै कार्की निर्माण व्यवसायी समेत हुन् भने शेर्पा पनि स्थापित व्यवसायी हुन् । दोलखाको शक्तिकेन्द्रको चुनावी नतिजा के हुन्छ भन्ने थाहा पाउन भने बैशाख ३० कुर्नै पर्ने हुन्छ । अलिअलि संगठन विस्तार गरेको एकीकृत समाजवादीबाट भने नन्द घतानी अध्यक्षका प्रत्यासी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत