२०७९ को बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको शैलुङ्ग गाउँपालिकामा चुनावी माहोल र कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् ।
१९ हजार ३३० मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा प्रमुख र उप-प्रमुख दुवै एमाले विजयी भएको थियो । तुलनात्मक रुपमा एमाले बलियो भएको शैलुङ्ग गाउँपालिकामा काँग्रेस र माओवादीको पनि अभियान जारी छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत गोजाउनु पर्ने चुनौती छ। दोलखाको अन्य पालिकाको तुलनामा एकीकृत समाजवादीको उपस्थिति शैलुङ्ग गाउँपालिकामा नगन्य छ । शैलुङ्गका ८ वटा वडामध्ये कांग्रेसले २ वटा वडामा र एमालेले ६ वटा वडामा जितेको थियो, माओवादीले भने शैलुङ्गमा खाता खोलेको थिएन ।
कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । काँग्रेस-माओवादी-समाजवादीको गठबन्धन भएको खण्डमा भने एमालेलाई हम्मे हम्मे पर्नेछ।
शैलुङ्गको सत्ता एमालेबाट गाउँपालिका अध्यक्षमा थुप्रै दाबेदार देखिएका छन् । पार्टीको जिल्ला अधिवेशन हुँदा कुनै पदमा दाबेदारी नगरेका तर पछि मनोनित जिल्ला कमिटी सदस्य हुँदै पालिका इन्चार्जको भूमिका पाएका धनबहादुर तामाङ्ग शैलुङ्ग गाउँपालिका अध्यक्षका सबैभन्दा बलिया दाबेदार हुन् । उनलाई पालिका अध्यक्ष बनाउन कै लागि जिल्ला कमिटीमा मनोनित गरेको बताइन्छ । तामाङ्ग ४८ सालदेखि कै एमाले जिल्ला कमिटी सदस्य हुन् । २०४९ सालमा गाविस उपाध्यक्ष र २०५४ मा गाविस अध्यक्षमा निर्वाचित भएपछि तामाङ्गले मागापौवामा बनाएको संगठन नै एमालेको शैलुङ्ग जित्ने आधार हो । पार्टीको गाविस सचिव, इलाका इन्चार्ज, गाउँपालिका अध्यक्ष र इन्चार्ज भैसकेका तामाङ्गको दाबेदारी नकार्ने स्थितिमा एमाले छैन ।
एमालेबाट नै हाल पार्टीको गाउँपालिका अध्यक्ष रहेका थिरबहादुर मोक्तान पनि गाउँपालिका प्रमुखका सशक्त दाबेदार हुन् । मोक्तान २०४९ र २०५४ मा एमालेको तर्फबाट दुधपोखरी गाविसको अध्यक्ष निर्वाचित भएका थिए । फस्कु गाविसमा २०४९ र २०५४ मा अध्यक्ष निर्वाचित गुणबहादुर बुढाथोकी पनि पालिका अध्यक्षका प्रत्यासी हुन् । उनि हाल एमालेको बागमती प्रदेश सदस्य छन् ।
शैलुङ्गको सत्ता एमालेबाट गाउँपालिका अध्यक्षमा थुप्रै दाबेदार देखिएका छन् ।
प्रदेश सदस्य नै रहेका एमालेको जिल्ला अध्यक्षमा पराजित भरतप्रसाद दुलाल अहिले शैलुङ्ग गाउँपालिकाको अध्यक्ष छन्। दुलाल पनि पालिका अध्यक्षका दाबेदार हुन् तर उनलाई टिकट दिने मुडमा पार्टी नभएको बताइन्छ । तत्कालिन नेकपा हुँदा केटी काण्डमा परेर उनी कारबाहीको सिफारिसमा परेका थिए। दुलाल ४१५६ मत ल्याएर निर्वाचित भएका थिए। गाउँपालिका उपाध्यक्ष रहेकी लालमाया योञ्जन पनि गाउँपालिका अध्यक्षकी दाबेदार हुन् ।
२५५७ मत ल्याएर गाउँपालिका अध्यक्षमा पराजित कांग्रेसका सिंह बहादुर तामाङ पनि गाउँपालिका अध्यक्षका दाबेदार हुन् । विशेष गरि वडा नं २ र ८ मा कांग्रेसको बलियो संगठन छन् । हारको पिडामा रहेका तामाङ्गको दाबेदारी यसपटक पनि रहने देखिन्छ । स्थानीय जनता बीच लोकप्रिय कुमार अधिकारी कांग्रेसबाट गाउँपालिका अध्यक्षका बलिया दाबेदार हुन् । कांग्रेसबाट दावा तामाङ्ग र रामेश्वर उप्रेतीले पनि गाउँपालिका अध्यक्षमा चासो देखाएका छन्। उप्रेती हाल वडा नं ८ का अध्यक्ष समेत हुन् ।
अघिल्लो निर्वाचनमा एउटा पनि वडा जित्न नसकेको माओवादी केन्द्र यसपाली शैलुङ्गमा बलियो उपस्थितका साथ् उभिएको छ । गत स्थानीय निर्वाचनमा २१२४ भोट ल्याएर तेश्रो बनेका रिमालबाबु श्रेष्ठ यसपाली पनि गाउँपालिका अध्यक्षका बलिया दाबेदार हुन् । गाउँपालिका अध्यक्ष मै उनलाई जिल्लाका प्रभावशाली नेताहरु ज्योति श्रेष्ठ र जितकुमार मोक्तानले बलियो टक्कर दिने देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ