२०७९ को बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको तामाकोशी गाउँपालिकामा चुनावी माहोल र कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । सबै पार्टीलले चुनाव केन्द्रित सभामा जोड दिएका छन् ।
१५ हजार ८३५ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा प्रमुख र उप-प्रमुख दुवै एमाले विजयी भएको थियो । तुलनात्मक रुपमा एमाले बलियो भएको तामाकोशी गाउँपालिकामा काँग्रेस र माओवादीको पनि अभियान जारी छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत गोजाउनु पर्ने चुनौती छ। दोलखाको अन्य पालिकाको तुलनामा एकीकृत समाजवादीको उपस्थिति तामाकोशी गाउँपालिकामा सशक्त छ । तामाकोशीका ७ वटा वडामध्ये कांग्रेसले ३ वटा वडामा र एमालेले ४ वटा वडामा जितेको थियो, माओवादीले भने तामाकोशीमा खाता खोलेको थिएन ।
कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । काँग्रेस-माओवादी-समाजवादीको गठबन्धन भएको खण्डमा भने एमालेलाई हम्मे हम्मे पर्नेछ। चुनावी टिकटको दाबेदारीले चरिकोटको मौसम गर्माएको छ।
उद्धवराज काफ्ले पार्टी सभापति हुँदा नै कांग्रेसको तर्फबाट भिम बहादुर तामाङ्गले संघिय सांसद र रुद्रबहादुर खड्काले जिविस सभापति जितेका थिए ।
कांग्रेसका उम्मेदवारलाई ७९५ भोटले पछि पार्दै पालिका अध्यक्ष जितेका एमालेका तत्कालिन जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल एमालेको तर्फबाट पालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । हाल उनी पार्टीको जिल्ला इन्चार्जको भूमिकामा छन् । तर उनी युवालाई नेतृत्व हस्तान्तरण गरेर संघिय संसद लड्ने मुडमा रहेको जिल्लाको एमाले वृत बताउछ । एमालेबाट हाल पार्टीका पालिका कमिटी अध्यक्ष तथा पुर्व क्षेत्रिय अध्यक्ष नारायणध्वज खड्का गाउँपालिका प्रमुखमा सशक्त दाबेदारको रुपमा देखिएका छन्। पुराना वामपन्थी नेता वसन्तराज कार्कीले पनि पालिका अध्यक्षमा चासो देखाएका छन्, उनी पार्टीका प्रदेश कमिटी सदस्य हुन् । पार्टी जिल्ला कमिटी सदस्य, तामाकोशी गाउँपालिका सह-इन्चार्ज तथा युवा संघका नेता धिरज सुवेदी र जिल्ला कमिटी सदस्य देवीप्रसाद फुयाल पनि पालिका अध्यक्षका आकांक्षी हुन् ।
नेपाली कांग्रेसको तर्फबाट पुर्व पार्टी सभापति उद्धवराज काफ्ले गाउँपालिका अध्यक्षको प्रमुख दाबेदार हुन् । काफ्लेले टिकट पाउने कुरा कांग्रेस वृतमा लगभग पक्कापक्की जस्तै छ । उनलाई पार्टीका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेको पनि समर्थन रहेको बुझिन्छ । उद्धवराज काफ्ले पार्टी सभापति हुँदा नै कांग्रेसको तर्फबाट भिम बहादुर तामाङ्गले संघिय सांसद र रुद्रबहादुर खड्काले जिविस सभापति जितेका थिए । उद्धवराज काफ्ले कांग्रेस भित्र कुशल संगठकको रुपमा चिनिन्छन । गत स्थानीय निर्वाचनमा ३८२० मत ल्याएर दोश्रो भएका भवेन्द्र कार्की नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । कार्की अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । कांग्रेस जिल्ला अधिवेशनमा सचिव हारेका कुमार भुजेल र महेश काफ्ले पनि पालिका अध्यक्षका दाबेदार हुन् । भुजेल पुर्व क्षेत्रिय सचिव हुन् भने काफ्ले वडा नं १ का निर्वाचित वडा अध्यक्ष हुन् । कांग्रेसको तर्फबाट युवा नेता भुवन केसीले समेत पालिका अध्यक्षमा बलियो दाबेदारी प्रस्तुत गरेका छन्।
गत स्थानीय निर्वाचनमा राम चन्द्र पोखरेललाई गाउँपालिका उपाध्यक्ष उठाएर ३२७० मत ल्याएको माओवादीको तर्फबाट गाउँपालिका अध्यक्षमा यसपटक ४ जना प्रमुख दाबेदार देखिएका छन् । जनयुद्धकालिन पुराना नेता बासुदेव पोखरेल ‘आकाश’ माओवादीबाट गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । उनी हाल पार्टीको बागमती प्रदेश कमिटी सदस्य छन् । माओवादीबाट नै बागमती प्रदेश संगठन विभाग सचिव उपेन्द्र अधिकारी सशक्त दाबेदार हुन् । हाल पार्टीको तामाकोशी गाउँपालिका अध्यक्ष तथा पुर्व जिल्ला सचिवालय सदस्य शम्भु फुयाल गाउँपालिका प्रमुखका दाबेदार हुन् । कांग्रेस-माओवादी-समाजवादीको गठबन्धन भएको खण्डमा भने कसले टिकट पाउछ यसै भन्न सकिन्न ।
नेकपा (एकीकृत समाजवादी) ले पनि तामाकोशी गाउँपालिकामा बलियो उपस्थिति देखाएको छ । समाजवादीबाट केन्द्रिय सदस्य चुनु खड्का र पार्टीका जिल्ला सचिव प्रोणप्रताप केसी गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । गठबन्धन नगरी समाजवादीले भने जित्न सक्ने स्थिति छैन । एमालेबाट फुटेर आएको समाजवादी आफु नजिते पनि एमाले हराउन पर्याप्त रहेको विश्लेषण दोलखामा हुन थालेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ