नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पाँच दलीय गठबन्धनका तर्फबाट स्थानीय तह निर्वाचनका लागि ‘चुनावी कमान्डर’ बनाइएका छन्। गठबन्धनले वरिष्ठ नेता पौडेलको संयोजकत्वमा ११ सदस्यीय ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ गठन गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले उक्त समिति गठन गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। समितिमा कांग्रेसका तर्फबाट सदस्यमा महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ छन्।
यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीलाई सदस्य बनाइएको छ।
जनमोर्चाकी उपाध्यक्ष पौडेलले ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ बैठक बुधबार बस्ने जानकारी दिएकी छन्। उनका अनुसार बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी भएकाे छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ