२०७९ को बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको कालिन्चोक गाउँपालिकामा चुनावी माहोल र कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्रले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । सबै पार्टीले चुनाव केन्द्रित सभामा जोड दिएका छन् ।
१८ हजार ६६१ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा प्रमुख र उप-प्रमुख दुवै एमाले विजयी भएको थियो । तुलनात्मक रुपमा एमाले बलियो भएको कालिन्चोक गाउँपालिकामा काँग्रेस र माओवादीको पनि अभियान जारी छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत जोगाउनु पर्ने चुनौती छ। कालिन्चोकका ९ वटा वडामध्ये कांग्रेसले २ वटा वडा, माओवादीले एउटा वडामा र एमालेले ६ वटा वडामा जितेको थियो।
कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । काँग्रेस-माओवादी-समाजवादीको गठबन्धन भएको खण्डमा भने एमालेलाई हम्मे हम्मे पर्नेछ। चुनावी टिकटको दाबेदारीले चरिकोटको मौसम गर्माएको छ।
एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा होम पाठक प्रमुख दाबेदारको रुपमा देखिएका छन् । एमाले जिल्ला अधिवेशनमा सचिवमा पराजित पाठकसंग मानवअधिकारको क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । पाठक नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय सह-कोषाध्यक्ष रहिसकेका छन् । सम्पर्क कमिटीका नेता गणेश शिवाकोटी एमालेबाट गाउँपालिका अध्यक्षका प्रवल दाबेदार हुन्, काठमाडौँमा रहेका एमालेलाई संगठित गर्न उनले उल्लेख्य भूमिका खेलेका छन् । शिवाकोटी हाल एमालेको जिल्ला कमिटी सदस्य, सम्पर्क मंचको इन्चार्ज हुन् । गाउँपालिका अध्यक्ष रहेका विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक पनि पालिका अध्यक्षका दाबेदार हुन् ।
पालिकाको केन्द्रको टुंगो तह लाउन नसक्दा यी दुवै एमाले वृतमा नै आलोचित छन् । सुनखानीमा रहेका पालिका समान लापिलाङ्ग रातारात पुर्याएका थामी गाउँपालिकाको सवारी साधन अरुलाई सिक्न दिंदा दुर्घटनामा पारेपछि पनि आलोचित थिए । पालिकाको केन्द्रको विषयमा निहुँ खोज्दै आएकी पाठकलाई लापिलाङ्गका जनताले लखाटेका थिए । थामीले गत स्थानीय निर्वाचनमा ४६०१ भोट र पाठकले ४५९० भोट ल्याएर निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसको तर्फबाट कालिन्चोक गाउँपालिकाका अध्यक्षका लागि अर्जुन शिवाकोटी प्रमुख दाबेदार हुन् । शिवाकोटी हाल नेपाली कांग्रेसको जिल्ला उप-सभापतिको रुपमा कार्यरत छन् । गाउँपालिका अध्यक्ष कै लागि कांग्रेसबाट सन्तोष पाठक (रंजित) अर्का सशक्त दाबेदार हुन्, उनी कांग्रेसका पुर्व जिल्ला सह-सचिव र हाल सचिव रहिसकेका व्यक्ति हुन् । कालिन्चोकमा कांग्रेसको तर्फबाट रतिराम शिवाकोटी पनि सम्भावित पात्र हुन् । अघिल्लो निर्वाचनमा उप-प्रमुखमा ४१०७ मत ल्याउदै पराजित बनेका गोपीलाल थामीको गाउँपालिका अध्यक्षमा स्वभाविक दाबेदारी देखिन्छ ।
अघिल्लो निर्वाचनमा अध्यक्षमा झिनो मतान्तरले पराजित माओवादीबाट पनि गाउँ पालिका अध्यक्षमा थुप्रै अनुहार दाबेदारको रुपमा प्रस्तुत भएका छन् । जनमुक्ति सेनाका कमान्डर तथा पुर्व जिल्ला संयोजक गोपाल पाण्डे माओवादीको तर्फबाट गाउँपालिका अध्यक्षमा प्रमुख दाबेदार हुन् । प्रदेशका प्रभावशाली नेता नर पाख्रिन गाउँपालिका अध्यक्षका सशक्त दाबेदार हुन् । केन्द्रिय कमिटीमा छुटेका पाण्डे र पाख्रिन प्रदेश सभा लड्ने सम्भावना पनि उत्तिकै छ । बागमती प्रदेश सदस्यद्वय कुलबहादुर बुढाथोकी र रिता रिमाल पनि गाउँपालिका अध्यक्षका प्रत्यासी हुन् । बुढाथोकी अघिल्लो निर्वाचनमा ४२०२ मत ल्याएर पराजित भएका थिए । उनी हाल पार्टीको जिल्ला संयोजकको भूमिकामा छन् भने रिमाल जिल्लाकी सिनियर महिला नेता हुन् । जनयुद्धमा गोली लागेकी रिमालको सम्भावना पनि उत्तिकै छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ