आइतवार, अशोज २७, २०८१

को बन्ला भिमेश्वरको सत्ता: यी हुन मेयरका आकांक्षी !


कान्तिपथ


स्थानीय निर्वाचन नजिकिँदै गर्दा मतदाताको संख्याको आधारमा दोलखाको सबैभन्दा ठूलो पालिका भिमेश्वर नगरपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारको टुंगो नलाग्दै नगरका परम्परागत प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसबीच यसपटक पनि कडा टक्करको सम्भावना देखिँदैछ । त्यसैले टिकटका लागि माहोल बनाउन भन्दै मेयरका आकांक्षीहरूले घरदैलो सुरु गरिसकेका छन् । दोश्रो पटक स्थानीय चुनावमा सहभागी हुन आँटेको माओवादीले पनि चुनावी छलफल सुरु गरेको छ ।

नगरमा एमालेलाई पार्टी विभाजनले पनि असर गर्ने देखिन्छ । एमालेको आन्तरिक विश्लेषण अनुसार, सबै वडामा विभाजनको प्रभाव छ । खैर नगरपालिकामा प्रभावशाली मानिएका समाजवादीका जिल्ला उपाध्यक्ष भुवन केसी एमाले मै फर्किसकेका छन्। उनलाई जिल्ला समन्वयको प्रमुख बनाउने आश्वासन दिईएको बताईन्छ ।

२०७९ को बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । सबै पार्टीलले चुनाव केन्द्रित सभामा जोड दिएका छन् । माओवादीका मोहन थापा झलनाथ खनालको हातको टिका लगाएर एकीकृत समाजवादी प्रवेश गरेका छन्, तर उनको खासै प्रभाव नभएको बताईन्छ ।

२६ हजार ८३३ मतदाता भएको यो नगरपालिकामा यसअघिको निर्वाचनमा प्रमुख र उप-प्रमुख दुवै एमाले विजयी भएको थियो । तुलनात्मक रुपमा एमाले बलियो भएको भिमेश्वर नगरपालिकामा काँग्रेस र माओवादीको पनि अभियान जारी छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत जोगाउनु पर्ने चुनौती छ। भिमेश्वरमा पार्टी फुटको असर विकराल छ । भिमेश्वरका ९ वटा वडामध्ये कांग्रेसले २ वटा वडामा र एमालेले ७ वटा वडामा जितेको थियो, माओवादीले भने भिमेश्वरमा खाता खोलेको थिएन ।

प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यको रुपमा कार्यरत स्थापित वरिष्ठ पत्रकार चिरन्जीवी मास्के एमालेबाट भावी मेयर फिगर हुन । मास्के पार्टीको बागमती प्रदेश कमिटी सदस्य हुन । एमालेबाट मेयरका लागि पार्टीका जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर प्रमुख दाबेदार हुन । एमाले दोलखाका पावर सेन्टर पार्वत गुरुङ निकट मानिने मानन्धर गुरुङ सूचना तथा संचार मन्त्री हुँदा प्रेस विज्ञको रुपमा कार्यरत थिए । त्यस्तै हालका मेयर तथा पार्टी प्रदेश कमिटी सदस्य भरत केसी मेयरमा दोहोरिने चाहमा छन् । अघिल्लो पटक ६८५३ मत ल्याएका केसी दोहोरिने सम्भावना भने झिनो छ । अघिल्लो निर्वाचन मै मेयरमा चर्चा गरिएका वडा नं ४ का अध्यक्ष हरिवंश चौलागाईं मेयरका सबैभन्दा पपुलर दाबेदार हुन् । जिल्ला कमिटीका अधिकांश सदस्य चौलागाईंको पक्षमा हुँदा हुँदै मेयरमा केसीले बाजी मारेका थिए । पछि पार्टीले चौलागाईंलाई वडा नं ४ को टिकट दियो उनी ५४३ भोट ल्याएर निर्वाचित भए । चौलागाईं हाल मदन भण्डारी फाउन्डेसनको जिल्ला अध्यक्ष समेत छन् । त्यस्तै वहालवाला उप-मेयर कमला बस्नेत पनि मेयरकी आकांक्षी हुन । उनले ७०१७ मत ल्याएकी थिइन् ।

नेपाली कांग्रेसबाट मेयरका लागि अघिल्लो पटकका मेयरका उम्मेदवार इश्वर नारायण मानन्धर प्रबल दाबेदार हुन । माओवादीसँग गठबन्धन गरेर उनले ५८१५ मत ल्याएका थिए । नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य समेत रहेका मानन्धर कांग्रेस निकट तरुण दलका पुर्व केन्द्रिय सचिव पनि हुन । नेपाली कांग्रेसले गत प्रदेश महाधिवेशनमा उनलाई महामन्त्री बनाउन खोजेको थियो तर अन्तिम समयमा आएर रोकियो । कांग्रेसबाट नै २०६२/६३ को जनआन्दोलनका सह-कमान्डर बेदबहादुर केसी मेयरको आकांक्षी देखिएका छन् उनी दोलखा कांग्रेसका पुर्व जिल्ला उप-सभापति हुन । दोलखाको पुरानो त्रिपुरा बोर्डिङ्गका संचालक पनि केसी नै हुन । कांग्रेसबाट बागमती प्रदेश कार्यसम्पादन समिति सदस्य चित्र कार्की पनि मेयरको प्रत्यासीको रुपमा देखा परेका छन् । उनी पार्टीको पुर्व जिल्ला सचिव हुन । कांग्रेसको तर्फबाट केसी र कार्की पनि चर्चामा रहे पनि मानन्धर निर्विरोध जस्तै छन् ।

माओवादीको तर्फबाट मेयरमा अघिल्लो पटक उप-मेयरमा २८७९ मत ल्याएर पराजित कमला कार्की मेयरको प्रमुख दाबेदार हुन । उनी अहिले माओवादीको बागमती प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छिन। माओवादीका भिमेश्वर नगर कमिटी अध्यक्ष तारानाथ चौलागाईं पनि मेयरका प्रत्यासी हुन । चौलागाईंले गत स्थानीय निर्वाचनमा वडा नं ४ मा २१५ भोट ल्याएका थिए। माओवादीको तर्फबाट वडा नं १ का उम्मेदवार बनेका रुकमणि शिवाकोटी पनि मेयरका प्रत्यासी हुन। शिवाकोटी पार्टीको नगर सचिव हुन । भिमेश्वरमा माओवादी-कांग्रेस-समाजवादीको गठबन्धन हुने सम्भावना प्रबल छ ।

भुवन केसी र घनश्याम रिजालको कारण भिमेश्वरमा समाजवादीको संगठन बलियो थियो, केसी एमालेमा फर्किएका छन् तर उनलाई कार्यकर्ताले साथ् दिएका छैनन् । समाजवादीको तर्फबाट भिमेश्वरको मेयरमा पार्टीका जिल्ला उपसचिव घनश्याम रिजाल चर्चामा छन्। रिजालको चरिकोट, रामकोट आसपासका क्षेत्रमा राम्रो प्रभाव छ । पशुपति चौलागाईं जीवित रहंदा उनी विश्वासपात्र थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत