शुक्रबार, चैत्र ३०, २०८०

कोपोभाजनमा सिनियर डिआईजी: निलम्बनमा पर्नेको काँधमा फुली


कान्तिपथ


३ एआईजी बढुवा प्रकरणविरुद्ध तीन डीआईजीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा विगतमा पटक–पटक कारबाही भोगेकालाई बढुवा गरिएको खुलाइएको छ।

विगतमा कारबाहीस्वरुप निलम्बनमा परेकालाई समेत सरकारले एआईजीमा बढुवा गरेर एक पटक पनि स्पष्टीकरण समेत नसोधिएकाहरुलाई छुटाइएको उल्लेख गरिएको छ। रिटमा उल्लेख गरिएको छ, ‘हाल पदोन्नतिको लागि सिफारिस भएका उम्मेदवारहरु विगतमा धेरै पटक विभागीय कारबाहीमा परेका र कारबाहीका क्रममा निलम्बनमा समेत रहेका कर्मचारी हुन्। कारबाहीमा परेकालाई बढुवा सूचीमा समावेश गर्ने तर सेवा अवधिभर एउटै स्पष्टीकरण समेत दिनु नपर्ने गरी जिम्मेवारी पूरा गर्नेलाई बढुवामा छुटाइएको छ।’

आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै असन्तुष्ट डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन्। उक्त रिटमा आफूहरुलाई बढुवा गर्नुपर्ने कारणसहित उनीहरुले मागदाबी गरेका छन्।

एआईजी पद विशिष्ट श्रेणीको नीति निर्माण गर्ने तहको दर्जा भएकोले बढुवा समितिले मूल्यांकन गर्दा आचरण, चालचलन, कारबाहीमा परे/नपरेको अवस्था समेत हेर्नु पर्नेमा त्यो नगरी बढुवा गरिएको आरोप रिटमा लगाइएको छ।

स्रोतका अनुसार निलम्बनमा पर्ने हाल एआईजीको फुली लाएका धिरजप्रताप सिंह हुन् । सर्वेन्द्र खनालको कार्यकालमा नेपाल प्रहरीमा इन्कान्टर घटना फस्टाए । खनालको कार्यकालमा भएका इन्काउन्टरको घटनाको छानबिन भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिनमा केही प्रहरीको जागिर नै धरापमा पर्न सक्ने देखिएको थियो । डिआईजीसम्मको जागिर धरापमा पर्ने भएपछि छानबिन प्रतिवेदन नै गोप्य राखिएको थियो ।

सर्वाेच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा भएको छानबिनमा डिआईजीसम्मका प्रहरीमाथि कारबाही सिफारिस भएको थियो । उनी महानगरीय अपराध महाशाखामा कार्यरत रहँदा भक्तपुरमा दुई युवकको इन्काउन्टर भएको थियो । बालक निशान थापाको अपहरणपछि हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सूर्य विनायकको जंगलमा लगेर गोली हानी हत्या गरेको थियो । उनलाई पक्राउ गरेर लगेकै स्थानीयले देखेका थिए ।

गत चैत १ गते गृहसचिव नेतृत्वको बढुवा समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो। यसविरुद्ध उजुरी सुन्ने समितिमा उजुरी समेत परेको थियो।

उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिकै निर्णय सदर गरेपछि सरकारले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि उनीहरुले एआईजीको फुली लगाएर जिम्मेवारी समेत सम्हालिसकेका छन्।

बढुवा सिफारिस भएकामध्ये धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुक भन्दा ११ महिनाअघि सेवा प्रारम्भ गरेको र वरिष्ठतामा उनीहरुभन्दा माथि नै कायम रहेको, डीएसपीमा ३ वर्षको जेष्ठता, एसपीमा २ वर्षको जेष्ठता, एसएसपी र डीआईजीमा पनि वरीयताक्रममा अगाडि हुँदाहुँदै छुटाइएको रिटमा उल्लेख गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत