स्थानीय निर्वाचन नजिकिँदै गर्दा दोलखाको दोश्रो नगरपालिका जिरीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारको टुंगो नलाग्दै नगरका प्रतिस्पर्धी दलहरू माओवादी केन्द्र, एमाले र कांग्रेसबीच यसपटक पनि कडा टक्करको सम्भावना देखिँदैछ । त्यसैले टिकटका लागि माहोल बनाउन भन्दै मेयरका आकांक्षीहरूले घरदैलो सुरु गरिसकेका छन् ।
नगरमा एमालेलाई पार्टी विभाजनले पनि असर गर्ने देखिन्छ । एमालेको आन्तरिक विश्लेषण अनुसार, सबै वडामा विभाजनको प्रभाव छ । २०७९ को बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । सबै पार्टीलले चुनाव केन्द्रित सभामा जोड दिएका छन् ।
१५ हजार ५०० जनसंख्या रहेको जिरीमा मतदाताको संख्या १४०५८ रहेको छ । अघिल्लो पटकको निर्वाचनमा प्रमुख र उप-प्रमुख दुवै एमाले विजयी भएको थियो । जिरीमा अहिले तुलनात्मक रुपमा बलियो बनेको माओवादीको अभियान जारी छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत जोगाउनु पर्ने चुनौती छ। जिरीका ९ वटा वडामध्ये कांग्रेसले १ वटा वडामा, माओवादीले २ वटा वडामा र एमालेले ६ वटा वडामा चुनाव जितेका थिए।
जिरीमा आक्रामक संगठन विस्तार गरिरहेको माओवादीको तर्फबाट पार्टीका केन्द्रिय सदस्य नविन जिरेल ‘प्रतिक’ प्रमुख दाबेदार हुन् । सानै उमेरमा जनयुद्धमा लागेर जनमुक्ति सेनाका कमान्डर बनेका जिरेल जिरीका युवा माझ लोकप्रिय अनुहार हुन् । जिरेलको ‘भिषण दिनहरु’ पुस्तक प्रकाशित छ । माओवादीको तर्फबाट मेयरका अर्का प्रत्यासी हुन्, तेज बहादुर गोले । गोले माओवादीको बागमती प्रदेश कमिटी सदस्य र जिरी नगरपालिका इन्चार्ज हुन् । अघिल्लो पटक माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेर दोश्रो भएका गेल्बु शेर्पा यसपटक पनि मेयरका दाबेदार हुन् । शेर्पाले अघिल्लो निर्वाचनमा २१०६ मत ल्याएका थिए । उनी पार्टीको नगर कमिटी अध्यक्ष हुन् ।
अघिल्लो पटक मेयर-उपमेयर दुवै जिताएको एमालेको तर्फबाट यसपटक ३ जना प्रमुख दाबेदारको रुपमा देखिएका छन् । वर्तमान मेयर टंकबहादुर जिरेल पुन मेयरमा दोहोरिन चाहेका छन्, उनले अघिल्लो निर्वाचनमा ३२१२ मत ल्याएका थिए । मेयर जिरेल एमालेको जिल्ला कमिटी सदस्य हुन्। एमालेका महाधिवेशन प्रतिनिधी मित्रलाल जिरेल एमालेको तर्फबाट मेयरमा सम्भावित दाबेदार हुन् । मित्रलाल एमालेको बागमती प्रदेश सदस्य हुन् । एमालेका नगर अध्यक्ष केशव कार्कीले पनि मेयर बन्ने चाह राखेका छन् ।
नेपाली कांग्रेसबाट जिरी नगरपालिकामा नगर सभापति सोनाम शेर्पा प्रमुख दाबेदारको रुपमा आएका छन् । अघिल्लो पटक मेयरका उम्मेदवार सोनाम शेर्पा पनि मेयर बन्न खोज्नेमा पर्छन । उनी १४०२ भोट ल्याएर तेश्रो भएका थिए । वडा नं १ का निर्वाचित वडाअध्यक्ष तथा नगर उपसभापति लाक्पा शेर्पाले पनि मेयरमा उठ्ने चाह देखाएका छन् । कांग्रेस निकट आदिवासी जनजाती संघका पुर्व जिल्ला अध्यक्ष तथा वडा नं ८ को अध्यक्षमा पराजित विश्वनिती प्रकाशमान सिंह पाख्रिन पनि मेयर बन्ने दौडमा छन् । बाबुराजा श्रेष्ठ पनि मेयरका आकांक्षी हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ