शनिबार, जेष्ठ ७, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • एक महिना अघि बिदामा बस्नुपर्ने आईजीपी किन धमाधम लेखापालको मात्र सरुवा-बढुवा गर्दैछन् ?

एक महिना अघि बिदामा बस्नुपर्ने आईजीपी किन धमाधम लेखापालको मात्र सरुवा-बढुवा गर्दैछन् ?


कान्तिपथ


आगामी २८ चैतमा अवकाश पाउन लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल यतिवेला देश दौडाहामा व्यस्त छन् । इलाम, कैलाली र डडेल्धुराका गण तथा गुल्मका भवनको उद्घाटन गरिसकेका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालयको अवस्था भने भद्रगोल छ । साउनमा हुनुपर्ने नियमित सरुवा अहिलेसम्म हुन सकेको छैन । अर्कोतर्फ हालै मिलान गरिएका नयाँ दरबन्दीमा बढुवाका लागि बैठक नै बस्न सकेको छैन ।

गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वबीच सहमति नहुँदा यसरी महिनौँसम्म नियमित सरुवा–बढुवा हुन नसकेको हो । नेतृत्व हस्तान्तरण गर्ने वेला बढुवामा विवादका कारण पनि यसरी महानिरीक्षक खनाल उपत्यकाबाहिर व्यस्त हुन थालेका हुन् । सशस्त्रका अन्य सरुवा-बढुवा रोकिए पनि खनालले चाख दिने गरेका लेखा समूहका सरुवाका बढुवा भने धमाधम भैरहेका छन् । कमाउने विषय बनेकाले सशस्त्र प्रहरी नियमावलीमा व्यवस्था भए अनुसार सेवा निवृत हुनुभन्दा एक महिना अगावै बिदामा बस्नु पर्ने खनालले अझै हल्चोक छाडेका छैनन् ।

सशस्त्र प्रहरीमा सामान्यतया हरेक साउन/भदौमा गण, गुल्म तथा बोर्डर आउट पोस्ट (बिओपी)का प्रमुखको फेरबदल हुन्छ । ती कार्यालयमा प्रमुखमा रूपमा पठाउने व्यक्तिको विषयमा टकराव हुँदा महिनौँसम्म सरुवा लम्बिएको हो । दुई महिनाअघि गणमा एसपीको फेरबदली भए पनि गुल्म, बिओपी र लेखापालहरूको अझै सरुवा हुन सकेको छैन । एसपीको सरुवामा गृह मन्त्रालयले गरेको धेरै सिफारिसलाई लत्याएपछि गृहमन्त्री बालकृष्ण खाण आइजिपी खनालसँग रुष्ट बनेको स्रोत बताउँछ ।

सरुवा मात्र होइन, बढुवा पनि अवरुद्ध हुन पुगेको छ । तल्लो तहको बढुवामा गृह मन्त्रालय र महानिरीक्षक खनालको सूची फरक–फरक भएकाले समितिको बैठक नै बस्न नसकेको स्रोत बताउँछ । अवकाश हुन लागेका आइजिपीलाई गृहमन्त्री पेलेर जाने रणनीतिमा छन् भने महानिरीक्षक खनाल अवकाश हुनुअघि रिक्त सबै बढुवा गर्ने प्रयासमा छन् ।

सशस्त्रमा हालै तल्लो तहका एक सय ७४ दरबन्दी कटौती गरेर माथिल्लो तहका एक सय १२ दरबन्दी थपिएको थियो । त्यसमा संगठन तथा व्यक्तिलाई हेरेर प्राविधिकतर्फ धेरै पद थपिएको थियो । इन्सपेक्टरबाट डिएसपी बढुवा हुन १६ वर्षभन्दा धेरै अवधि लाग्ने अवस्था आएपछि केही दरबन्दी थपिएकोमा स्वार्थको टकरावले ती पदमा बढुवासमेत सिफारिस हुन सकेको छैन ।

खनाललाई आर्जनको लागि सहज पार्ने लेखा समूहमा भने खनाल २ दिनमा बढुवा सिफारिस गर्न सक्षम भएको स्रोतले बतायो । बढुवा सिफारिस हेर्दा सशस्त्र प्रहरी बलमा अब चेन अफ कमाण्ड भत्किने एक उच्च प्रहरी अधिकृतले बताए । ब्याच नं ७ भन्दा पछाडीका गणेश बहादुर मल्ल ब्याच नं ५ का करबहादुर घर्तिमगरलाई पछि पार्दै १ नं मा बढुवा सिफारिस भएका छन् । सातौँ ब्याचका ताराबहादुर केसी र शोभाकान्त ढकाल समेत छैठौं ब्याचका प्रहरी निरिक्षकहरु भन्दा अगाडी सिफारिस भएका छन् । पहिलो नम्बरमा सिफारिस भएका मल्ल आईजीपी खनालको सबै चाँजोपाँजो मिलाउने लेखा कमान्डर हुन् ।

मल्ल कै सेटिङ्गमा खनालले लेखा समूहमा साधारण उपसमूहको दरबन्दी कटौती गरि भारी मात्रामा दरबन्दी सिर्जना गरेका थिए । यसपटकको बढुवा सिफारिस हेर्दा सिमित व्यक्तिको स्वार्थ र खनालको आर्थिक धन्दाको खुलासा हुने डरले गरिएको आशंका गर्न सकिने एक वहालवाला प्रहरीले बताए । हचुवाको भरमा हुने यस्ता बढुवाले स्वार्थसमूहलाई लाभ भएपनि व्यवसायिक प्रहरीको करिअरमा धक्का पुग्ने उनले बताए ।

लेखा समूहमा रहेका चौथो ब्याचका राजकुमार ढकाल, पाँचौ ब्याचका करबहादुर घर्तिमगर र रमेश थापा बाहेक अन्य सबै छैठौ ब्याचका साधारण उपसमूहका निरिक्षक भन्दा जुनियर हुन् । सत्ता र भत्ताको दुरुपयोगलाई खनालले प्रशय दिंदा वृतिविकासको अवसरमा गम्भीर धक्का पुगेको छ । खनालको छत्रछायाँमा हुर्केबढेकाका जुनियर बेसिकका अधिकृतहरु सिनियर बन्दै पदोन्नतिको अवसर पाएका छन् ।

खनालले केहि दिन अगाडी काज सरुवा निकालेका छन् । सामान्यतया मानवस्रोत विभागले निकाल्ने सरुवा यसपटक सशस्त्र प्रहरी प्रधान कार्यालयले निकालेको छ । मानव स्रोत कै प्रहरीहरु भने बढुवाको सूचनाले तिनछक परेका छन् । ४ वर्षे कार्यकालमा ३ पटक ओ.एण्ड.एम गराएका गराएका खनालले सशस्त्रका युनिट कहिले खारेज कहिले पुन:स्थापना गरेर पुरानै युनिटको उद्घाटन गर्दै शिलालेखमा नाम लेखाएका छन्, उनलाई रिबन कात्दादी हिड्ने पनि उतिकै सोख छ । यता प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय भानु देउवाका ज्वाईं दोश्रो ब्याचका दिपेन्द्र कुँवर असक्षम प्रहरी प्रमुखको कमजोरीको फाईदा उठाउदै ब्याच नं १ भन्दा अघि बढुवा हुन लागि परेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत