सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। अधिकारीलाई निलम्बन गरेपछि कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ।
पछिल्लो समय अर्थतन्त्र संकटमा पर्दै गएपछि गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच तिक्तता बढेको थियो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा नियुक्त अधिकारीको भूमिकाबारे छलफल भएको थियो।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा अर्थमन्त्री शर्मा र अधिकारीबीच अर्थतन्त्रमा देखिएको संकटबारे दोहोरी नै चलेको थियो। मन्त्री शर्माले अर्थतन्त्रमा चर्चा भए जस्तो संकट नरहेको बताउँदा अधिकारीले श्रीलंकाको बाटोमा गइसकेको टिप्पणी गरेका थिए।
त्यसैगरी अमेरिकाबाट आएको भनिएको ४० करोड रूपैयाँलाई लिएर राष्ट्र बैंककै अधिकारीहरुले कमिसन बार्गेनिङ गरेको आरोप पनि शर्माले लगाएका थिए।
देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ