नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी रेणु दाहाल र बुहारी बिना मगरका क्षेत्रमा नेपाली कांग्रेस तालमेल गर्न अनिच्छुक देखिएको छ। चितवन र कञ्चनपुरमा कांग्रेसले स्थानीय तह निर्वाचनमा माओवादीसँग नमिल्ने अडान देखाएको हो।
चितवन र कञ्चनपुरमा कांग्रेसको जिल्ला नेतृत्वले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका अन्य ४ दलसँग चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ। तर, सो निर्णयपछि पनि चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादीलाई नछाड्ने बताएको छ।
२०७४ को निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई सघाएका कारण यो पटक महानगरको नेतृत्व आफूहरुले पाउनुपर्ने चितवन कांग्रेसको भनाइ छ। कंचनपुर जिल्ला कार्यसमिति तालमेलको पक्षमा देखिए पनि प्रचण्डकी बुहारी विना मगर निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि कांग्रेसले चुनावी तालमेल अस्वीकार गरेको छ।
कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति पदम बोगटीलाई पत्र पठाउँदै कञ्चनपुर–१ का चार पालिकामा चुनावी तालमेल आवश्यक नभएको बताएको छ।
स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले तालमेल नगर्न नेतृत्वलाई सुझाव दिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ