प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताए। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलिको बोको बनाउने काम गरेको आरोप समेत लगाए।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्वमा ज्यान धरापमा पारेर हिँडेकालाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमूना प्रस्तुत गरेको दाबी गरे।
उनले क्रान्तिकारी हुँ भन्नेले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाई थियो। ‘नातावाद, कृपावादको यत्रो बहस चलिराख्या छ, देशमा। नातावाद भो, कृपाबाद हो। अचाक्ली भो। क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नोबाहेक कोही नियुक्ति गर्दैनन् भन्ने छँदै थियो। हिजो पुष्पकमल दाहालका भाइ नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो। उहाँलाई राष्ट्रियसभामा लगियो’, उनले भने, ‘यत्रो बिघ्न घाईते छन्। सहिद परिवार छन्। आन्दोलन गरेका मान्छे छन्, शरीरमा गोली लिएर हिँडीरहेका व्यक्ति छन्। जनयुद्धको नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छे छन्। ती सबैलाई पन्छाएर, आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हिजो फेरि भयो।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ