नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) पदको उम्मेदवार सिफारिस गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि प्रमुखमा ५ जना र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो ।
प्रमुखको उम्मेदवार सिफारिस गरिएकाहरुमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् । एमालेले उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको छ ।
एमालेले उम्मेदवारको रुपमा चर्चामा आएका केन्द्रीयस्तरका नेताको नाम भने सिफारिस गरेन । यसअघि एमालेका केन्द्रीय नेता तथा पूर्वमन्त्रीहरू लालबाबु पण्डित, जीवन घिमिरेलगायतको नाम चर्चामा ल्याएको थियो । सिफारिस गरिएको नाममध्ये थापा एमाले विराटनगरका अध्यक्ष हुन् भने साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य हुन् ।
लालबाबु पण्डितले त घरदैलो अभियान नै सुरु गरिसकेका थिए । पर्शुराम बस्नेत एमाले निकट नेपाल खेलकुद महासंघको संयोजक हुन् । उनी केहि समय पहिले प्रदेश नम्बर १ सरकारले गठन गरेको खेलकुद विकास बोर्डको सदस्य सचिव पनि बनेका थिए ।
गैरकानूनी गतिविधिबाट आर्थिक लाभ लिई सम्पत्ति शुद्धीकरण कानून विपरीतको सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई मुद्दा दायर गरेको थियो।
बस्नेतसँग विभागले ११ करोड बराबरको सम्पत्ति रहेको दाबी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्ति लुकाएको दाबी विभागको थियो।
मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एडभर्टाइजिङ, पिआर हार्डवेयर, बंगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवालगायतमा लगानी गरेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ