नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि प्रभावकारी रूपले सही नीति अवलम्बन गर्न नसकेको बताएका छन्।
मुलुकको आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘हिजो हाम्रो नेतृत्वको सरकार हुँदा तरलताको अभाव थिएन। सबै परिसूचकलाई विश्लेष्ण गर्दा एमालेले सरकार छोड्ने बेलामा तुलनात्मक रुपमा सबल र सुदृढ अर्थतन्त्रको अवस्थामा छोडेको थियो,’ उनले भने, ‘तर, अहिलेको सरकारले त्यसलाई निरन्तरता दिन सकेन। हामीले कोभिड महामारीको सामना गर्दै अर्थतन्त्रको व्यवस्था बिग्रन नदिएर तुलनात्मक रुपमा राम्रो गरेका थियौं।’
उनले हिजो एमाले नेतृत्वको सरकार हुँदा र अहिलेको अवस्थाको तुलनात्मक रुपमा अध्ययन गरिनुपर्ने बताए। ‘शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दै गर्दा कोभिडको महामारी झन् कम हुँदै गएको थियो। यो सरकारले सही नीति लिएर प्रभावकारी हिसाबले अघि बढेको भए मुलुकको अर्थतन्त्र सुधार हुँदै जाने थियो,’उनले भने,‘तर, त्यसो हुन सकेन। हामीले लोकप्रिय बजेट ल्याएका थियौं। सबै दृष्टिकोणले राम्रो थियो। त्यसलाई कार्यान्वयनमा नलगेर राजनीतिक आग्रह राख्ने काम भयो।’
अहिलेको सरकारकै कारण इतिहासमा पहिलोपटक निश्चित समयसम्म मुलुक बजेटविहीन हुने अवस्थामा पुगेको भन्दै उनले सरकार गम्भीर नभएको बताए। गत जेठमा केपी शर्मा ओलीको सरकार हटेको थियो। त्यतिबेला १४ अर्ब डलर सञ्चित रहेको, पारदर्शी करको प्रस्तावले लगानीकर्ता उत्साही भएको र तरलताको अवस्था नरहेको पौडेलले बताए।
‘अहिले अत्यन्त नकारात्मक दृष्टिकोणले अर्थतन्त्र अघि बढेको छ। चालु घाटा जोखिममा पुगेको छ, हुण्डीको कारोबार बढेको छ। आयात अनियन्त्रित बढेको छ। पुँजीगत खर्च निराशाजनक छ। कर्मचारीमा आस्थाका आधारमा जिम्मावारी दिइएको छ,’ पौडेलले भने,‘हरेक किसिमले क्षमतावान् गभर्नर हटाइएको छ। सरकारको गलत नीतिलाई अस्वीकार गरेका कारण स्पष्टीकरण सोधिएको छ। सरकारले यो निर्णय सच्याएन भने अझै आर्थिक संकट पर्छ। गभर्नर एउटा पद मात्र होइन,यो संस्था ध्वस्त पार्ने योजना हो।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ