सोमवार, अशोज २८, २०८१

पाँच दलीय गठबन्धनको संयुक्त विज्ञप्ति : के भयो सहमति ?


कान्तिपथ


पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् । सोमबार संयुक्त वक्तव्य जारी गर्दै पाँच दलका शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेको जनाएका छन् ।

‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो’, संयुक्त वक्तव्यमा भनिएको छ ।

परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि वक्तव्यमा प्रस्ट पारिएको छ । पाँच दलले लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् ।

साथै त्यसका लागि देशै भर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ । उनीहरुले स्थानीय तहको निर्वाचन सफल पार्न पाँचदलीय गठबन्धनका उमेदवारहरूलाई मत दिएर विजयी बनाउन अनुरोध समेत गरेका छन् ।

वक्तव्यमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत