बुधबार, जेष्ठ ४, २०७९

बालुवामा हरियाली, फलफूल र तरकारी


कान्तिपथ



न चैत महिनाकोे प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा बगरको बलौटे जग्गा खोस्रेर भङ्गाहा नगरपालिका–६ स्थित पर्सा र सग्रामपुर किसानले माटोमा ‘सुन’ फलाएका छन् । अहिले रातु नदीको पुरानो बगर किसानको मिहेनतले सबैतिर हराभरा भएको छ ।
बालुबुर्जको बलौटे जग्गा त्यहाँका किसानको निरन्तरको मिहेनतले हराभरा भएको छ । अहिले पुरानो रातु बगरको २०५ बिघा बलौटे जग्गामै फलपूmलका बिरुवा लहलहाएका छन् । तरकारी बाली पनि फस्टाएको छ । त्यसैगरी भङ्गाहा–७ का भूमिहिन दलित पनि पछिल्लो पाँच÷छ वर्षयता बगरको पर्ती ऐलानी जग्गामा तरकारी बाली लगाउन थालेपछि जीवनमा खुसी आएको बताउँछन् ।
“यो बगरले गुजारामात्र हैन, हाम्रो फरक परिचय पनि दियो, हाम्रो मेहनत हेर्न आउनेले हामीलाई मिहेनती र पौरखी किसान भन्छन् , जीवनमा केही असल गर्दै रहेछौ भन्ने लाग्छ” पर्साका किसान रामनारायण सिंह थारु भन्नुहुन्छ ।
रातु नदीले बालुवा थुप्य्राएको बगरमा अब लहलह बाली झुलेपछि जिल्लाको अहिले आफ्नो दिन फिरेको त्यहाँका किसान बताउँछन् । पर्सा, सग्रामपुर धनषपुरको माझमा विगतमा रातु नदीले बगर बनाएको २०५ बिघा जग्गामा अहिले लहलह बाली झुलेपछि किसानले दिन फिरेको अनुभूति गरेका हुन् ।
उक्त नदीले उर्वर जग्गालाई बगर बनाएपछि सुकुम्वासी बनेका किसान पछिल्लो सात वर्षयता सामुदायिक विकास तथा पैरवी मञ्चको सहयोगमा अहिले बगरमा सुन फलाउने भएका छन् । “हजुर, देखैछी न..अखैन तरकारी निकैैल रहल अई” (हजुर, अहिले तरकारी निक्ली रहेको देखीरहनु भएको छ नि ! ) खेतमै पुगेका सञ्चारकर्मीसँग बगर खेतमा लौका, फर्सी, खोर्सानी टिपी रहेकी भङ्गाहा–६ रामज्योति हुजदार थारु भन्नुहुन्छ, “अइस पहिने अघनी सिजनके तरकारी बेच चुुकल छी, ओम्भर देखु आब भदैया तरकारी लगेवाक तयारी भरहल अई” (यसअघि हिउँदे यामको तरकारी बेची सक्यौ, उता हेर्नोस् भदौरे यामको तरकारी लगाउन तयारी गरिँदैछ) । रामज्योतिको एक बिघा नदी उकास जग्गामा आँपका फूल हुर्कदैछन् भने त्यहीँ जग्गामै परवल, फर्सी, लौका, बोडी, करेलासहितका लहरे तरकारी बाली फस्टाएका छन् । लहरामा हुर्कदै गरेको फर्सीको कंँैडो देख्दै मन प्रफुल्ल हुने गरेको किसान बताउँछन् ।
रामज्योतिजस्तै पर्सा बस्तीकै बिन्दादेबी हुजदार र पुनमदेवी हुजदार पनि अहिले रातोदिन बगर बगैँचा र त्यहाँको तरकारी खेतीमा ब्यस्त देखिन्छन् । आफ्नो १२ कठ्ठा बगर खेतमा ५६ वटा आँपका रुख हुर्काउनु भएका किसान शङ्कर हुजदारले पनि बितेका चार वर्षमा खोर्सानी, हर्दी (बेसार) जस्ता मसला र मौसमी तरकारी बालीबाट गुजारा चलाएर राम्रै बचत भएको बताउनुभयो । “वर्षमा एक डेढ लाख रकम सञ्चय भएपछि बल्ल ‘लाख’ भन्ने कति हो भन्ने बुझ्न थाल्यौ” हुजदार भन्नुहुन्छ ।
बगर बगैँचा र तरकारी खेती थालेका यहाँका किसानले मौसमी तरकारी खेतीमात्र लगाउने गरेका छन् । “बेमौसमी तरकारी खेती में विषादिके ज्यादा प्रयोग कर परैछै” (बेमौसमी तरकारी खेतीमा विषादिको प्रयोग गर्नुपर्छ) पर्सा बस्तीकी किसान बिन्दादेबी हुजदार भन्नुहुन्छ, “ई महग आ स्वास्थ्यके लेल हानिकार होइछै, तइलक हमसभ मौसमी तरकारी खेती करैछि” (बेमौसमी तरकारी खेती मँहगो र स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ नि ! त्यसैले हामी मौसमी तरकारी खेती नै गर्छौँ )।
विसं २०३०को बाढीले जग्गा सबै काटेर बालुवा थुपारेपछि पर्साका आदिवासी थारु लालपुर्जामा मात्र जग्गा भएपनि सुकुम्वासी हुँदै आएकामा २०६४ सालयता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदी उकास गरिएको बगरमा पैरवी मञ्चले बगर खेती गर्न किसानलाई उत्साहित बनाएपछि पछिल्ला छ वर्षयता उनीहरु अब्बल किसानमा दरिएका हुन् ।
भङ्गाहा–६ र ७ को २०५ बिघा नदी उकास बगरमा अहिले मालदह, बम्बै, दशहरी, कलकतीया र जर्दा जातका १८ हजार आँपका बिरुवा हुर्कदै छन् । आँपबाहेक लिची र कागतीका बिरुवा पनि हुर्किरहेका देखिन्छन् । बगर जोतिएको पहिलो वर्ष (२०७३) मै लगाइएका आँप त दुई वर्षयता फल्दैछन् । पर्सा, सग्रामपुर र धनषपुरसहित तीन बस्तीका १०८ परिवारले बगरमा मौसमी तरकारी बाली लगाएर वर्षेनि लाखौँ आम्दानी गरिरहेका पर्सा बस्तीकै समाजसेवी रामनारायण हुजदार बताउनुहुन्छ ।
उक्त मञ्चले पहिलोपल्ट सन् २०१५ मा त्यहाँका बाढी पीडित किसानलाई सङ्गठित गर्दै ‘रातुखोला फलपूmल तथा वृृक्षरोपण आय आर्जन समूह’ मार्फत खेतीमा लाग्न उत्साहित गराएपछि अहिले बगर हराभरा भएको हो । उक्त मञ्चले आँप, लिची र कागतीका बिरुवा तथा तरकारीका बिउविजन र प्राविधिक सहयोग उपलब्ध गराउँदै समूहका अध्यक्ष जासर यादब बताउनुहुन्छ । “ मञ्चले बगरकै ठाउँठाउँमा बोरिङ्ग पनि जडान गरिदिएको छ” उहाँ भन्नुुहुन्छ, “मुख्य कुरा त हौसला हो, जुन उक्त मञ्चले यहाँका किसानलाई दियो।” उनीहरु आफ्नो र आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत भएकाले प्राङ्गारिक खेती गर्दै आएका र बजारमा पनि यहाँका किसानको उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।
जग्गाधनी रहेका यादव र थारु किसानले बगरमा आ–आफ्नो पुरानो जग्गामा अहिले साँध लगाएका छन् । बगरकै नदी उकास २५ बिघा ऐलानी पर्ती जग्गा भने धनषपुरका मुसहर, चमार, दुसाध र खत्वे जातिका दलित समुदायले खनजोत गरेर बगैँचा र तरकारी बाली लगाइ रहेका छन् । नदी उकास ऐलानी जग्गामा बगर बगैँचा र तरकारी खेती गर्न थालेपछि कमाउन पञ्जाव, हरियाणा जाने गरेका दलित परिवारका युवा अहिले यहीँ मिहिनेत गरेर ‘सुन’ फलाइ रहिएको बताउँछन् ।
त्यहाँका महिला किसानले महालक्ष्मी र शिवशक्ति महिला आयआर्जन समूह गठन गरेर नियमित बचतसमेत गरिरहेका छन् । “हामी बाढीको चपेटाले कागजको लालपुर्जा धनीमात्र थियौँ महालक्ष्मी महिला आयआर्जन समूहकी अध्यक्षसमेत रहनु भएकी रामज्योति हुजदार भन्नुहुन्छ–, “पैरवी मञ्चले हामीलाई नयाँ जिन्दगी दियो, अब मिहिनेत गरेर खान, पिउन अप्ठ्यारो छैन ।”
बगर बगैँचा र तरकारी खेतीमा रमेका किसानले बलौटे बगर खेतमा सिञ्चाइको पर्याप्त सुविधा नपुगेको गुनासो गर्दै आएका छन् । “के गरौं हजुर, अहिले पानी पटायो, साँझै खङ्रङ्ग हुन्छ” बगर बगैंचाका किसान चन्देश्वर हुजदार भन्नुहुन्छ, “हाँमीलाई थप पाँच÷सातवटा बोरिङ्ग भए बाली अझै बढाउन सकिन्थ्यो ।”
त्यहाँका किसानको मिहेनतले बगर अब सुन फल्ने ठाउँ बनेको पैरवी मञ्चका अध्यक्ष नागदेब यादव बताउनुहुन्छ । “हामीले बगरमा यसरी खेती गर्न सकिन्छ भन्यौँ, त्यहाँका किसानले टपक्क त्यो कुरा टिपेर मिहिनेत गर्न थाले, पाँच÷छ वर्षमै बगर हराभरा बगैँचा बन्यो” उहाँ भन्नुहुन्छ, “स्थानीय समुदायको सहयोग एबम् किसानको मिहेनत साकार बन्यो ।”
त्यहाँका किसानमा आएको परिवर्तन अन्य ठाउँका किसानका लागि शिक्षा भएको अध्यक्ष यादवको भनाइ छ । बगरमा किसानले गरेका मिहेनतले विपद व्यवस्थापन (नदी कटान रोक्न गरिएको प्रयत्न), महिला सशक्तिकरण (आर्जनमा महिलाको सहभागिता र स्वामित्व), जैविक विविधता, वातावरणीय अनुकूलन, जलवायु परिवर्तन अनुकूलन र जलाधार क्षेत्रको संरक्षण सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुगेकामा उहाँ जोड दिनुहुन्छ । भङ्गाहापछि गौशाला नगरपालिकाको बेलगाछीका भूमिहीनले पनि बगर बगैँचा खेती थालेका छन् ।
बगर बगैँचाका किसान अब आफ्नै मिहिनेतमा गर्जो टार्नेमात्र नभइ छोराछोरी पढाउन र आपतविपद्मा आफन्तलाई सघाउन सक्ने भएका छन् । “मिहेनत गर्नुपर्छ हजुर दुःखका दिन चाँही अब गए” किसान रानारायण सिंंह भन्नुहुन्छ, “अब बर्षमा रु दुई÷चार लाखका लागि साहू खोज्न अन्त जान पर्दैन, समूहभित्रै सञ्चित रकम र बचतले धानिन्छ ।”
त्यहाँका किसान अब जिल्लाकै ‘मोडल’ किसानमा दरिएका छन् । यहाँको देखासिकीले गौशालाको बेलगाछीका मुसहर समूदायका भूमिहीनले मरहा नदीको उकास बगरमा यस्तै खेती थालेका छन् । दुबै ठाउँका बगर बगैँचाका किसानले मिहेनतले नयाँ दृष्टान्त देखाएका कृषि विज्ञको भनाइ छ । किसानको यो प्रयत्नमा स्थानीयतहले साथ बढाए अझै प्रभावकारी हुने कृषि विज्ञ राजकिशोर यादव बताउनुहुन्छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत