रामेछापमा नेकपा एमालेविरुद्ध सत्ता साझेदार पाँच दल गठबन्धन गरेर अघि बढ्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मंगलबार भएको बैठकमा गठबन्धन बनाएर जाने सहमति जुटेको हो ।
मन्थलीमा भएको बैठकले गठबन्धनसँगै निर्वाचनमा तालमेल गर्ने रणनीतीअनुसार एकअर्कालाई प्रतिकूल असर पर्ने अभिव्यक्ती नदिने सहमति पनि बनेको छ । संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तिमा जिल्लास्थित आठवटै पालिकामा चार दल एक भएर निर्वाचनमा जाने र एकअर्कालाई प्रतिकूल असर नपर्ने अभिव्यक्ति तथा गतिविधि नगर्ने र नगराउन सबै तहमा निर्देशन दिइने उल्लेख छ ।
कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ, नेकपा माओवादीका संयोजक मैनकुमार मोक्तान, एकीकृत समाजवादीका अध्यक्ष रमेशकुमार बस्नेत र जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य रोजबहादुर मोक्तानले विज्ञप्तिमा हस्तक्षर गरी सहमति जनाएका छन् ।
२०७४ को निर्वाचनमा जिल्लाको आठ पालिकामध्ये पाँच पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख एमालेले जितेको थियो । २०७४ मा कुल ६४ वडामध्ये एमालेले २८, माओवादीले २१, कांग्रेसले १३, राप्रपाले १ र स्वतन्त्रबाट १ जनाले वडाध्यक्ष जितेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ