नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले दिएकाे थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा आज सुनुवाई हुने भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । आलममाथि १४ वर्षअघि रौतहटमा इँटाभट्टाभित्र जिउँदै मान्छे जलाएको मुद्दामा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी तीन वटा मुद्दा एक साथ चलाइएको छ ।
२०६४ फागुन २७ गते आलमको घर नजिकै बम बनाउने क्रममा विस्फोट हुँदा आठ जना घाइते भएका थिए । घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतका साथै उच्च अदालतले समेत आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनको पछिल्लो मुद्दा लामो समयदेखि स्थगित हुँदै आएको थियो ।
यसअघि आलमको मुद्दाको पेसी कहिले हेर्न नमिल्ने र कहिले हेर्न नभ्याइनेमा पर्दै आएको थियो । ७३ नम्बरको थुनुवाबाटै उनले आफूलाई थुनामा पठाउने रौतहट जिल्ला, वीरगञ्ज उच्च अदालतको आदेश खारेजीको माग गर्दै निवेदन दर्ज गरेका हुन् ।
आलमले पहिलो संविधानसभा निर्वाचनको समयमा रौतहटको राजपुरमा भएको बम विष्फोटनमा संलग्न २० जनाभन्दा धेरैलाई इँटाभट्टामा हालेर ज्यान लिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ