आइतवार, माघ ६, २०८१

नेपालगञ्जमा नयाँ उद्योगको लागि जग्गा अपुग


कान्तिपथ


नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ । नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आएपनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योग सञ्चालनमा छन् । २३३ रोपनी जग्गामा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका सबै उद्योग सुचारु रहेका छन् । “उद्योग स्थापनाको लागि उद्योगी व्यवसायीबाट औद्योगिक क्षेत्रमा माग छ तर हामीसँग जग्गा छैन”, कार्यालयका प्रमुख पुनले भन्नुभयो, “नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन नहुँदासम्म दिन सकिने अवस्था छैन ।”

नेपालगञ्जको बीच बजारमा रहेको औद्योगिक क्षेत्र सुरक्षा र सुविधाका दृष्टिकोणले उपयुक्त रहेकाले नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीको आकर्षणमा पर्ने गरेको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा पाइप निर्माण गर्ने, प्लाष्टिक उद्योग, प्लाई उद्योग, मेटल उद्योग र पानी उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । यहाँ रहेको विनोद मेटल उद्योग र विजय मेटल उद्योगबाट उत्पादन हुने चरेशका थालहरू तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको कार्यालयका प्रमुख पुनले बताउनुभयो ।

नेपालगञ्जमा उद्योग स्थापना गर्ने जग्गा अभाव भएपछि पछिल्लो पटक नेपालगञ्जसँगै जोडिएको जानकी गाउँपालिकाको वडा नं ६ स्थित गनापुरमा जग्गा किनेर धेरै उद्योग स्थापना भएका छन् । त्यहाँ करिब ८० उद्योग सञ्चालनमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिनुभयो । शिलान्यास भएको एकवर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम सुरु हुन सकेको छैन ।

उहाँले नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना नहुँदासम्म उद्योग स्थापनाको लागि जग्गा अभाव देखिएको बताउनुभयो । शिलान्यास भएको १३ महिना बित्दासमेत उक्त औद्योगिक क्षेत्रको काम सुरु हुन सकेको छैन । काम सुचारु गर्न आफूहरूले बारम्बार अनुरोध गर्दै आएको महासचिव ओलीको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत