आइतवार, अशोज २७, २०८१

६ महानगर यसरी हुँदैछ गठबन्धनमा भागबन्डा


कान्तिपथ


सत्तारूढ गठबन्धनले आज बेलुकीसम्म महानगरको भागबन्डा गर्ने तयारी गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ।

‘आज साँझसम्म महानगर र उपमहानगरबारे सहमति बनिसक्छ,’ उनले आज पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा भने । छ महानगरमध्ये तीन महानगर कांग्रेसले राखेर बाँकी तीन महानगर माओवादी, एकीकृत समाजवादी र जसपालाई एकेक महानगर दिने तयारी छ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ। माओवादीले भरतपुर महानगर दाबी गरेको छ। एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ।

प्रचण्डले माओवादीले कम्तिमा एक महानगर लिने बताए। भरतपुर पहिले पनि जितेको हुनाले त्यो महानगर लिने भनिएको उनको भनाइ थियो। तर भरतपुर नै चाहियो नभनिएको उनले प्रष्टाए। काठमाडौं वा विराटनगरमध्ये एक दिन पनि माओवादीले मान्ने उनले बताए।

११ उपमहानगरमा पनि दलहरूले भागबन्डा गर्ने तयारी गरेका छन्। आज बिहान सत्तारूढ दलका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेका थिए। दिउँसो केहीबेर स्थगित बैठक फेरि बस्ने तयारी छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ।

पाँच दलीय गठबन्धनको केन्द्रीय नेतृत्वले पोखरा महानगरपालिकाको मेयर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई दिने सहमति जुटाउनै लाग्दा पोखरा महानगरपालिकामा कांग्रेसले गठबन्धन तोडेको छ।

पोखरा महानगरको मेयरको टिकट कुनै हालतमा अरुलाई नदिने पक्षमा रहेको कांग्रेसले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीसँग तालमेल टुटेको घोषणा गरेको हो।

बालुवाटारमा जारी पाँच दलीय गठबन्धनको बैठकमा समाजवादीले कुनै हालतमा पोखराको मेयरको टिकट चाहिने अड्डी कसेको छ। केन्द्रको नेतृत्वले सहमति जुटाउन नसकिरहेका बेला पोखरामा महानगरमा भने कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्ला एक्लै हिँड्ने निर्णय गरिसकेको छ।

कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार एक वक्तव्य निकाल्दै अब समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत