बिहिबार, बैशाख ६, २०८१

सर्वोच्चको आदेशले फिर्ता हुँदै गभर्नर: प्रश्नको घेरामा अर्थमन्त्री !


कान्तिपथ


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो ।

गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए । उनी १२ दिनपछि कार्यालय जाँदै छन्। न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वाेच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो । सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।

सर्वाेच्चकाे आदेशपछि गभर्नर अधिकारीको राष्ट्र बैंक फिर्तीले अर्थमन्त्री शर्मामाथि नैतिक संकट सिर्जना गरेको छ। मन्त्री शर्माको प्रस्तावलाई दुरुस्तै पास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डल पनि त्यसको स्वाभाविक हिस्सेदार हुनेछ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी अन्तरिम आदेश जारी भएकाले उक्त निर्णय गर्नेहरुमाथि नैतिक प्रश्न उठ्ने बताउँछन्। उनी भन्छन्, ‘प्रथम दृष्टिमा केही नदेखिकन सर्वोच्चले अन्तरिम आदेश दिँदैन र दिइँदैन पनि। पक्कै इजलासले केही त्रुटि देखेको हुनुपर्छ। प्रधानमन्त्री र अर्थमन्त्रीले अहिलेदेखि नै गल्ती गरिएछ भनेर नैतिक रुपमा जिम्मेवारी लिनुपर्छ। उहाँहरुले सच्चाउने बाटोमा हिँड्नुपर्छ।’

सर्वोच्चको आदेशपछि अधिकारी अब राष्ट्र बैंक हाजिर हुनेछन्। उक्त अवस्थामा बजेट निर्माणमा सक्रिय रहेका अर्थमन्त्री पक्कै समस्यामा पर्नेछन्। गभर्नरसँग कुनै सल्लाह नगरी बजेटका नीति तथा बजेटका कार्यक्रम राख्न अर्थमन्त्रीले सक्नेछैनन्। यस्तो अवस्थामा शर्माले आफूले कारबाहीको सिफारिस गरेका मानिससँग कुम जोडेर आगामी दिन फेरि काम गर्न बाध्य हुनुपर्ने छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत