राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । करिब तीन वर्षपछि बस्न लागेको बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुनेछ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतका विषयमा छलफल हुन लागेको बताए ।
घिसिङले कार्यकाल सम्हालेको १५ दिन भित्र नै बोर्ड बैठक बसालेका हुन् । युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा १९ औं एसियन गेम्सको सहभागितालाई पनि मुख्य एजेण्डाको रुपमा समावेश गर्ने सदस्य–सचिव घिसिङले बताए ।‘आज बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागिताको विषयमा छलफल हुनेछ । मेरो कार्यकाल आएको १५ दिनभित्र राखेपको बोर्ड बैठक बोलाउन सफल भएको छु । बैठक सकरात्मक हुनेछ,’ सदस्य–सचिव घिसिङले रातोपाटीसँगको कुराकानीमा भने ।घिसिङले केपी ओली सरकार र शेरबहादुर देउवाको सरकारमा नियुक्त भएका र पदमुक्त भएका बोर्ड सदस्यहरुलाई बैठकमा नबोलाएको बताए ।
यद्यपी मन्त्रीपरिषद्को निर्णयबाट नियुक्त भएका बोर्ड सदस्यहरु भने उपस्थित हुनेछ ।सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ । गण्डकी प्रदेशमा हुने प्रतियोगिता प्रदेशका सबै जिल्लाहरुमा कम्तिमा एक खेल गर्ने योजना रहेको छ ।राखेपको बोर्ड बैठक करिब तीन वर्षपछि पहिलो पटक शुक्रबार बस्दैछ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने छ । नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनमा बसेको राखेपको बोर्ड बैठक नै राखेपको अन्तिम बोर्ड बैठक हो ।
२०७६ साल बैशाखको पहिलो साताबाट हालसम्म राखेपको बोर्ड बैठक बस्न सकेको थिएन। त्यसपछि खेलकुदको नेतृत्वमा आएका कुनैपनि खेलकुद मन्त्रीले राखेपको बोर्ड बैठक राख्न सकेनन् । आजको बैठकमा नवौं खेलकुदका लागि तयारी र व्यवस्थापनको हकमा कति बजेट विनियोजन हुने भन्ने खाका पनि तयार हुनेछ ।