यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) देशैभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी (मनोनयन) दर्ताको लागि समय निर्धारण गरेको छ।
उम्मेदवारी दर्ताका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन्। उम्मेदवार बन्न चाहनेले तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ। आज र भोलि दर्ता हुने उम्मेदवारीबारे वैशाख १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी वैशाख १४ र १५ गते उजुरी उपर जाँचबुझ गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचार संहिता लागू गरेको छ। उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले धमाधम राजीनामा दिइरहेका छन्।
निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरु गठबन्धन निर्माण गरेर निर्वाचनमा होमिएका छन्। तर, मनोनयनको दिनसम्म पनि धेरै ठाउँमा दलहरुले उम्मेदवार टुंग्याउन सकेका छैनन्।
२०७४ सालमा तीन चरणमा गरिएको स्थानीय तह निर्वाचन यस पटक देशैभरि एकै चरणमा हुन लागेको हो। स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ।
उम्मेदवार बन्ने व्यक्ति सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ। सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएका व्यक्ति स्थानीय तहमा उम्मेदवार हुन पाउँदैनन्।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदाता नामावली अद्यावधिक गरिसकेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ