शुक्रबार, फाल्गुन २, २०८१

तनहुँ कांग्रेसका निवर्तमान सचिवसहित ५ जनाको राजीनामा


कान्तिपथ


नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले मङ्गलबार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीबाट रुष्ट भएकाले पत्रकार सम्मेलनपश्चात पार्टी सभापति जीतप्रकाश आलेसमक्ष उनीहरुले राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस निवर्तमान सचिव बाँस्तोलाले पार्टीभन्दा पनि नेताको प्रवृत्तिले कार्यकर्ताहरु रुष्ट बनेपछि राजीनामा दिएको बताउनुभयो । दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसक्नुभएका बाँस्तोलाले पार्टीभित्र दास प्रवृत्ति मौलाउँदै गएपछि पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिनुभएको हो ।

“पार्टीभित्र देखिएका कमीकमजोरी औँल्याउँदा उल्टै दुश्मनको व्यवहार सहनुपरेकाले राजीनामा दिने योजना बनाएका हौँ”, उहाँले भन्नुभयो, “पुनः पार्टीमा फर्किने भन्ने योजना भने रहेको छैन ।” पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको अवस्थामा त्यसलाई चिर्दै अघि बढ्नुपर्छ भनेर सक्रिय भूमिका खेल्दै आए पनि पार्टीभित्र त्यो सह्य नभएको उहाँले बताउनुभयो ।

कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराईले पार्टीलाई कमजोर बनाउँदै गएकाले टुलुटुलु हेरेर बस्नुभन्दा स्वतन्त्र जीवन बिताउन चाहेकाले राजीनामा दिएको बताउनुभयो । उहाँले शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेद्वारी दिएको पनि सो अवसरमा बताउनुभयो ।

कांग्रेस व्यासनगर समितिका निवर्तमान सचिव चूडामणि दाहालले बिपीको सिद्धान्तअनुरूप पार्टी नचलेको र आफ्ना केही आसेपासेलाई मात्रै काखी च्याप्ने प्रवृत्ति बढेकाले स्वतन्त्र भएर बस्ने इच्छाअनुरूप राजीनामा दिइएको बताउनुभयो । व्यास नगरपालिका–३ का पूर्ववडासभापति बाबुराम बगालेले आफूले पार्टीबाट राजीनामा नदिए पनि रुष्ट रहेको बताउनुभयो । पार्टीभित्र धेरै पटक सुझाव राखे पनि बेवास्ता गरिएकाले असन्तुष्ट भएको उहाँले बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिकाका नगरसचिव दीपेन्द्र पौडेलले पार्टीमा कुसंस्कारबाट घुसेकोले सहन नसकी स्वतन्त्र उम्मेदवारका रूपमा शुक्ला–१ बाट उम्मेदवारी दिएको बताउनुभयो । सो अवसरमा दीर्घबहादुर थापाले पनि राजीनामा दिएर व्यासनगर–२ बाट वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत