शनिबार, जेष्ठ ७, २०७९

विदेशबाट फर्केर गाईपालनबाट आम्दानी गर्दै


कान्तिपथ


तुलसीपुर, १६ वैशाख दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो । विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ । उहाँको आफ्नै गाईफार्म छ ।

केसी दिनभर गाईको गोबर सोहर्नुहुन्छ । गाईलाई दाना–घाँस खुवाउनुहुन्छ । साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किनुहुन्छ । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ । 

केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बस्नुभयो । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उहाँले भन्नुभयो । केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थाल्नुभएको हो । उहाँले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल हुनुभएको छ । “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उहाँले भन्नुभयो, “अब विदेश जाने सोचै छैन ।” 

केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै हुनुहुन्छ । सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गर्नुभएको हो । अहिलेसम्म उहाँले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसक्नुभएको छ । हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उहाँको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पाल्नु भएको छ ।  

व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उहाँले त्यो लगानी उठाइसक्नुभएको छ । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताउनुभयो । उहाँले रु १० हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ । दूध बिक्री गर्न  बजारीकरणको समस्या छैन । “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भन्नुभयो । उहाँले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याउनुभएको हो ।  

केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लाग्नु भएको छ । हाल उहाँको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उहाँको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो”, श्रीमती सरिताले भन्नुभयो, “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।”  
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत