सोमवार, जेष्ठ २, २०७९

राष्ट्रिय फुटबल टोलीमा १७ नयाँ खेलाडी; बन्द प्रशिक्षण सुरु


कान्तिपथ


राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन्। मंगलबार प्रशिक्षण छाडेका खेलाडीको ठाउँमा अलमुताइरीले गोलकिपर विकेश कुथु, फरवार्ड जर्ज प्रिन्स कार्कीसहितलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।

१० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताइरीले नयाँ खेलाडीलाई अवसर दिएका हुन्। अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडी प्रशिक्षण छाडेर टिमबाट बाहिरिएका थिए। थपिएका खेलाडीमा कुथु र कार्कीसहित विशाल सुनार, अनिश चौधरी, निरकुमार राई, सुनील श्रेष्ठ, सुशील राई, आकाश बुढामगर, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, अभिषेक बराल, सञ्जोक राई, मनीष मगर, विकास तामाङ, रोशन राना र रूपबहादुर लामा छन्।

विकेश प्रशिक्षणमा नजाने
यद्यपि आर्मी क्लबका गोलकिपर कुथुले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका छन्। आफू फिट भएका बेला मिडियामा बोलेको कारण टिम बाहिर राखिएको समेत उनको आरोप छ।

‘हाल राष्ट्रिय टोलीमा भएको घटनाक्रम मलाई पूर्ण रूपमा अवगत भएको र खेलाडी साथीहरूमा पर्न गएको मर्का मैले बुझेको छु,’ उनले लेखेका छन्, ‘विगतमा म पूर्ण रूपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत् नै छ। तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथीहरूको जायज मागप्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु।’ अन्य खेलाडीले भने प्रशिक्षण सुरु गरेको बताइएको छ।

एन्फा बैठकको माग
अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरिएको छ। वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा केन्द्रीय सदस्य दावा लामाले अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेख्दै अत्यन्त संवेदनशील विषयमा निर्णय गर्नुपर्ने भएकाले तत्काल बैठक बोलाउन अनुरोध गरेका हुन्।

मुख्य प्रशिक्षक अलमुताइरी र खेलाडीबीचको विवाद उत्कर्षमा छ। यो विवाद अत्यन्त संवेदनशील विषय भएको उनीहरूको भनाइ छ। बन्द प्रशिक्षणका क्रममा खेलाडीको सुविधाका विषयमा मुख्य प्रशिक्षक अलमुताइरी र राष्ट्रिय टिमका सिनियर १० खेलाडीबीच विवाद चुलिएको छ।

सेवा सुविधाका विषयमा कुरा उठाएपछि खेलाडी रोहित चन्दलाई अलमुताइरीले प्रशिक्षणबाट निकालेका छन्। त्यसपछि अन्य ९ सिनियर खेलाडी बन्द प्रशिक्षण छाडेर हिँडेका छन्। यद्यपि अलमुताइरीले जुनियर खेलाडीलाई समावेश गरेर बन्द प्रशिक्षण भने जारी राखेका छन्। असन्तुष्ट खेलाडीलाई बाहिर राख्दै अलुमताइरीले प्रशिक्षणलाई अघि बढाएका हुन्। नेपाल टिम एसिया कप छनोटको तयारीमा छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत