निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामबाट मेयर पदमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् । उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।
नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापतिबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उनलाई स्थानीय तह निर्वाचनका लागि घण्टाघर चुनाव चिह्न दिएको थियो। तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न नै छापिएको छैन ।
आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताउँछन् । उनले आफुसंग खेलवाड गर्न खोजिएको र पटक-पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ नभएको गुनासो पोखेका छन् ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले धेरै स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न नमूना मतपत्रमा नभएको बताए । उनले यस विषयमा आयोगलाई जानकारी गराइसकिएको बताएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ