आइतवार, बैशाख २७, २०८३

खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’


कान्तिपथ


खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले उद्घाटन गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको उक्त चिस्यान कोठामा दश रेफ्रिजेरेटरमा अट्ने जति खोप भण्डारण गर्न सकिने छ । यसअघि भण्डारण क्षमता कम हुँदा यहाँ कोभिड–१९ विरुद्धको खोप आपूर्ति र वितरणमा समस्या भएको थियो । थपिएको भण्डारण क्षमताले बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङलाई समेत पुग्ने निर्देशक खड्काले बताउनुभयो ।

“धौलागिरि क्षेत्रमा खोप भण्डारण र वितरण केन्द्र अब बागलुङ बन्छ”, उहाँले भन्नुभयो, “खोप सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यसबाट ठूलो मद्दत पुग्छ ।” निर्देशक खड्काका अनुसार योसहित गण्डकी प्रदेशमा ठूलो क्षमताका चार ‘वाकिङ कुलर’ सञ्चालनमा ल्याइएको छ । यसबाट ५० लाख जनसङ्ख्यालाई पुग्ने खोप भण्डारण गर्न सकिनेछ । गण्डकी प्रदेशको जनसङ्ख्या झण्डै २५ लाख छ ।

कोभिड–१९ महामारीका बेला खोप सेवालाई दु्रत र प्रभावकारी बनाउन सरकारले देशभर भण्डारण क्षमता विस्तारमा जोड दिएको थियो । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले दश घण्टासम्म बिजुली नआउँदा पनि यसको प्रणालीले आफँै धान्ने बताउनुभयो । त्योभन्दा बढी समय बिजुली नआएमा भने जेनेरेटर प्रयोग गर्नुपर्छ । खत्रीले अबदेखि कोभिड–१९ जस्ता जुनुसुकै महामारी आउँदा पनि खोप आपूर्ति, भण्डारण र वितरणमा समस्या नहुने बताउनुभयो ।

बालबालिकाले पाउने नियमति खोप सेवादेखि अन्य जुनसुकै खोप सेवाको गुणस्तरीयता बढाउन पनि उक्त चिस्यान कोठाले सघाउ पु¥याउने स्वास्थ्य कार्यालयले जनाएको छ । कुनै सामान्य तापक्रम त कुनै अत्यधिक चिसोमा राख्नुपर्ने खोप हुन्छन् । अत्यधिक चिसोमा राख्नुपर्ने खोपका लागि भण्डारण क्षमता कम भएपछि सरकारले ‘वाकिङ कुलर’को विस्तारमा लगानी बढाएको हो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कोभिड–१९ महामारीले खोपको भण्डारण क्षमता विस्तारका लागि आफूहरुलाई झकझक्याएको बताउनुभयो । उहाँले यहाँको ‘वाकिङ कुलर’ले धौलागिरि क्षेत्रकै खोप सेवा सञ्चालनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । “भण्डारण क्षमताको कमीका कारण खोपको आपूर्ति र वितरण प्रभावित हुने अवस्थाको अब अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत