बहुप्रतिक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’ आगामी शुक्रबार नेपाल, भारतसहित विश्वभर प्रदर्शनमा आउंदै छ।
यस फिल्मको वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा उपस्थित कतिपयले यसलाई हरर शैलीको डरलाग्दाे चलचित्र बताएका छन् भने कतिपयले मिश्रित प्रतिक्रिया दिएका हुन् । कतिपयले चाहिं निर्देशक साम राइमीको कलात्मक शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् ।
मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा यस फिल्मका कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहित बेनेदिक्त वांग लगाएतका सेलिब्रिटी उपस्थित रहेका थिए । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्ज को मुख्य पात्रको भूमिका निर्वाह गरेका छन् ।
मल्टिभर्स संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । यस फिल्मको पहिलो भागका केहि दृश्यहरु नेपालमा समेत शुटिंग गरिएको थियो । मार्भल फ़्रेञ्चाइजको नेपालमा पनि थुप्रै फ्यानहरु रहेका छन् ।
विश्वभर यो फिल्म ले टिकटको अग्रिम बुकिङ्ग बाट मनग्ये आम्दानि गरेको छ । आगामी शुक्रबार नेपाल, भारतसहित विश्वभर फिल्म प्रदर्शनको तयारीमा छ । भारतमा चाहिं अग्रिम टिकट बिक्रीबापत २० करोड भारु कमाइ गरेको जनाइएको छ ।
नेपालमा चाहिं फिल्मको सेन्सर जाँच बुधबार बेलुका सम्पन्न भएको थियो। त्यस पश्चात नेपालमा पनि टिकेट बुकिङ्ग खुलाइएको थियो । यस फिल्मसँगै अर्को प्रतीक्षित हलिउड फिल्म ‘अवतार २’ टिजर पनि शुक्रबार नै रिलिज हुने जनाइएको छ।