काठमाडौं महानगरपालिकाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ ।
उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए ।
‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ ।
यसअघि आयोगले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि गरेको टिप्पणीका विषयमा पनि प्रष्टीकरण सोधेको थियो । १५ वैशाखमा काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिंदा जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ