सोमवार, जेष्ठ ५, २०८२

मध्यपुर थिमिको मेयरमा ज्वाइँ र जेठान भिड्दै


कान्तिपथ


आसन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यस नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ चुनावी दौडमा छन् । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र एमालेबाट मेयरका उम्मेदवार बनेका मदनसुन्दरका जेठान हुन् ।

विगतमा लोकप्रिय मत पाएर जितेका मदनसुन्दर र काँग्रेसका सुरेन्द्रबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यो पालिकामा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ भने गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

काँग्रेसको तर्फबाट मध्यपुर थिमि नगरपालिकाका मेयर पदका उम्मेदवार सुरेन्द्र श्रेष्ठले विगतका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेका कारण यस पटक आफूलाई जनताले विकल्पका रुपमा रोज्ने दाबी गरेका छन् । उनले भने, ‘मध्यपुर थिमिमा काँग्रेस १ देखि ९ नम्बर वडासम्म बलियो छ ।’ त्यसमाथि पनि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएकाले आफ्नो उम्मेदवारी थप सशक्त भएको उनको दाबी छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका मदनसुन्दर श्रेष्ठ भने पाँच वर्षसम्म नगरपालिकालाई नेतृत्व गरेका हिसाबले पनि जनताले फेरि आफूलाई नै विश्वास गर्ने दाबी गर्दछन् । श्रेष्ठले भने, ‘मेरो विगतको कार्यलाई मूल्याङ्कन गर्दै अधुरा कार्य पूरा गर्न यो पटक जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

सम्पदा पुनर्निर्माणमा आफूले ध्यान दिएको भन्दै उनले आफ्नो अघिल्लो कार्यकालमा मध्यपुर थिमि एउटा धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्य भएको दाबी गरे । केही कार्य अधुरो भएकाले त्यसलाई पूरा गर्न पनि आफूले फेरि उम्मेदवारी दिएको उनको भनाइ छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि मध्यपुर थिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला साथै अन्य ३ जना मतदाता गरी जम्मा ४१ हजार ८४२ मतदाता छन् । मध्यपुर थिमिमा १७ मतदान स्थल र ४६ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत