सोमवार, जेष्ठ २, २०७९

रामग्राममा बुद्धजयन्तीको विशेष तयारी


कान्तिपथ


विश्व शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । यही वैशाख ३१ देखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको प्रवद्र्धन हुने गरी भव्यरुपमा बुद्धजयन्ती मनाउने तयारी गरिएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनअर्थात् यसपटक जेठ २ गते बुद्धजयन्ती पर्व मनाइँदैछ । कोभिड–१९ महामारीका कारण विगत दुई वर्ष बुद्धजयन्तीमा सुनसानजस्तै बनेको रामग्राम स्तूपमा यस वर्ष विशेष उल्लासका साथ बुद्धजयन्ती मनाउन लागिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा पर्दछ । उहाँका अनुसार वैशाख ३१ गते स्तूप क्षेत्रको बृहत् सरसफाइ, जेठ १ गते भिक्षुद्वारा प्रवचन र भोजनदान तथा जेठ २  गते प्रवचन, परित्राण, प्रार्थना तथा अन्य विविध कार्यक्रमका साथ मूल समारोह आयोजना गरिनेछ । साथै जेठ १ र २ गते साँझ दीपप्रज्वलन गरिनेछ । 

कार्यक्रमलाई भव्य र सभ्य बनाउन मूल समारोह समिति र विभिन्न उपसमितिहरु गठन गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । लुम्बिनी विकास कोषअन्तर्गत रहे पनि रामग्राम स्तूपमा लामो समयदेखि स्थानीयको सक्रियतामा बुद्धजयन्ती मनाइने गरिएको थियो । यसपटक रामग्राम नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीयको संयुक्त सहकार्यमा रामग्राम स्तूपमा बुद्धजयन्ती मनाउन लागिएको हो । 

कोषको बेवास्ताका कारण रामग्राम स्तूप ओझेलमा परेकोले यहाँको प्रवद्र्धनका लागि स्थानीयकै अग्रसरतामा बुद्धजयन्ती मनाउने गरिएको २५६६ औँ बुद्धजयन्ती मूल समारोह समिति रामग्रामका संयोजक एवं रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले राससलाई बताउनुभयो । 

रामग्राम स्तूप अहिलेसम्म बुद्धको अस्तुधातु नझिकिएको विश्वको एक मात्र स्थल भएको बताइएको छ । बौद्ध ग्रन्थहरुका अनुसार उहाँको महापरिनिर्वाणपश्चात् शवको दाह संस्कारपछि केही मोतीका दानाजस्ता अस्तुधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बीच ती अस्तुधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएका जनाइएको छ ।  

यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीय, वट्ठदीप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तुधातु लगेर विशाल स्तूप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । यसमध्ये कोलिय राज्यका राजाले त्यस अस्तुधातुलाई राखेर बनाएको स्तूप नै रामग्राम स्तूपको भएको बताइएको छ । 

यसपछि इशापूर्व २६८ देखि २३२ सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्तुधातु निकाली त्यसबाट ८४ हजार स्तूप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाएको इतिहासमा उल्लेख गरिएको छ । 

इतिहासकारका अनुसार सम्राट अशोक रामग्राममा अस्तु निकाल्न आउँदा यहाँका नाग वंशहरुले रक्षा गरेको कारण यहाँको अस्तु सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौँ शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।

स्तूपमा अहिले देखिने ढिस्को सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तूप हो भन्ने प्रमाणित भयो । यो स्तूप नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिका–७ मा पर्छ । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण तीन किलोमिटरस्थित उजैनी गाउँको पूर्व झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्कोे नै रामग्राम स्तूप हो ।

विश्वभरका बौद्धहरु यस स्थलमा एकमात्र अस्तुधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विभिन्न देशबाट तीर्थयात्री यहाँ आएर सामूहिकरुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् तर यहाँ पर्यटकीय पूर्वाधार अहिलेसम्म निर्माण हुन सकेको छैन । 

सो कोष लुम्बिनीमा मात्र केन्द्रित भएको यहाँका स्थानीयवासीको गुनासो छ । रामग्राम स्तूपको विकासका लागि सरकारले छुट्टै स्वायत्त कोष वा समिति गठन गर्नुपर्ने यहाँका स्थानीयवासीले माग गर्दै आएका छन् । 
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत