पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् । उनले आफूलाई गधासँग तुलना गरेपछि उनी ट्रोलको शिकार भएका हुन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा क्लिपमा इमरान खानले भनेका छन्, ‘ गधामाथि धर्सो कोरिदिए त्यो जेब्रा बन्दैन । गधा सधैँ गधा नै रहन्छ ।’
वास्तवमा, भिडियोमा इमरान खानले आफू बेलायतमा हुँदाको समय याद गरिरहेका छन् जतिबेला उनी त्यहाँको समाजसँग मिल्न सकिरहेका थिएनन् । यो क्लिप हालैको पाकिस्तानी पोडकास्ट कार्यक्रमको भाग हो, जसमा इमरान खानलाई अतिथिको रूपमा निम्तो गरिएको थियो ।
पाकिस्तानी प्रयोगकर्ताहरूले इमरान खानको यो भनाइलाई इन्टरनेटमा धेरै शेयर गरिरहेका छन् । भिडियो भारतमा पनि अत्यधिक शेयर भइरहेको छ ।
पूरा पोडकास्ट शो हेरेपछि, यो स्पष्ट हुन्छ कि इमरान खान वास्तवमा विदेशी पाकिस्तानीहरू अर्थात् विदेशमा बसोबास गर्ने पाकिस्तानीहरूबारे कुराकानी गरिरहेका छन् र पाकिस्तानका प्रतिभा कसरी बाहिर गइरहेका छन् भन्ने बताइरहेका छन् । ।
पोडकास्टका होस्ट जुनैद अकरमले विदेशमा बढ्दो पाकिस्तानीको संख्यामाथि कटाक्ष गर्दै भन्छन्, ‘सायद पाकिस्तानले धेरैभन्दा धेरै मानिसलाई विदेश पठाउने नीति बनाइसकेको छ ताकि त्यहाँबाट पैसा पठाउन सकियोस् र मुलुक चल्न सकोस् ।’
यसबारे पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान भन्छन्, ‘हाम्रो उत्कृष्ट प्रतिभा विदेशमा गएको छ, यसमा कुनै शंका छैन । यहाँको व्यवस्थाले उनीहरूलाई रोक्छ, त्यसैले उनीहरू बाहिर जान्छन् । तर एउटा कुरा याद गर्नुहोस्, बाहिर पाकिस्तानी जतिसुकै सफल किन नहोस् उसले आफ्नो देशमा पाउने जत्तिको मान सम्मान अन्त कतै पाउँदैन ।’
‘म बाहिर क्रिकेट खेल्न जान्थेँ । म पनि त्यो समाजको एउटा हिस्सा थिएँ । त्यहाँ ठूलो स्वागत थियो, जबकी बेलायती समाजमा बाहिरी व्यक्तिलाई सजिलै स्वीकार गरिँदैनथ्यो । तर मैले कहिल्यै त्यसलाई आफ्नो घर ठानिनँ । किनभने म पाकिस्तानी थिएँ । म अंग्रेज बन्न सक्दिनँ । गधामाथि लाइन कार्दा त्यो जेब्रा बन्दैन । त्यो गधा, गधा नै रहन्छ ।’ उनले भने ।
राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव हारेपछि इमरान खानको सरकार यस वर्ष अप्रिल १० मा ढलेको थियो । त्यसपछि विपक्षी गठबन्धनका नेता शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।