सोमवार, जेष्ठ २, २०७९

धनुषामा कुटिए राप्रपाका उम्मेदवार


कान्तिपथ


स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका छन् ।

मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनीसहित परिवारका ७ जना सदस्यमाथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले माग गरेको छ ।

यसैगरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने लगायतका गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

यसले जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको भन्दै राप्रपाले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । ‘आफ्नो चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ । साथै यस्ता घटनाले निर्वाचन मार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत