बुधबार, मंसिर १४, २०७९

‘डक्टर स्ट्रेन्ज-२’ले नेपालमा दुई दिनमै कमायो २ करोड ११ लाख ग्रस


कान्तिपथ


बेनेडिक्ट कम्बरब्याच र एलिजाबेथ ओल्सनको मुख्य भूमिका रहेको हलिवुड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज: इन द मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा उछाल ओपनिङ गरेको छ ।

फिल्मले शुक्रबार र शनिबार गरी दुई दिनमा २ करोड ११ लाख रुपैयाँ ग्रस कमाइ गरेको नेपाली बिक्रेता एप्पल इन्टरटेनमेन्टले जनाएको छ । एप्पल व्यवस्थापक जेनिस पहारीका अनुसार मुलुकका ५४ पर्दाबाट साम रेइमी निर्देशित फिल्मले उक्त कमाइ गरेको हो ।

क्यूएफएक्ससहितका मुख्य मल्टिप्लेक्समा शुक्रबार र शनिबार लगभग सबै शोको टिकट अग्रिम बुकिङ्ग भइसकेको थियो । पहारीले अझै केही साता डक्टर स्ट्रेन्ज-२ ले राम्रो कमाइ गर्न सक्ने आंकलन गरेकी छन् ।

नेपालमा समेत छायांकन गरिएको फिल्मको सिरिज भएको र हलिउड स्टुडियो मार्भलको सुपरहिरो फिल्म भएकाले पनि दर्शकको आकर्षण बढेको बुझ्न सकिन्छ । ‘डक्टर स्ट्रेन्ज-२’को यो ओपनिङ मार्वलकै अघिल्लो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ कै हाराहारी हो ।

टम हल्यान्ड स्टारर ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्स अफिसमा ७ करोड ३० लाख ग्रस लाइफटाइम कारोबार गरेको छ । ‘केजीएफ-२’को प्रभाव मत्थर भएको बेला रिलिज भएको ‘डक्टर स्ट्रेन्ज-२’ले मल्टिप्लेक्समा दबदबा जमाउन सुरु गरेको छ।

भारतीय बक्स अफिसमा ‘डक्टर स्ट्रेन्ज-२’ले पहिलो सप्ताहन्त ७८.५० करोड नेट कलेक्सन गरेको छ । आइतबार मात्रै भारतमा फिल्मले २४.५० करोड नेट कमाएको छ ।

पहिलो सप्ताहन्तमा फिल्मले विश्व बक्स अफिसमा ४५० मिलियन डलर कमाइ गरेको छ । अमेरिकी बक्स अफिसमा मात्र १८५ मिलियन डलर र ओभरसिजमा २६५ मिलियन डलर कमाइ गरेको डेडलाइन म्यागजिनले जनाएको छ ।

‘स्पाइडरम्यान : नो वे होम’पछि यो महामारीकालकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म भएको बताइन्छ । मार्भल सिनेम्याटिक युनिभर्सअन्तर्गत यो फिल्म चौथो सर्वाधिक कमाइ गर्ने फिल्म भएको पनि जनाइएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत