शुक्रबार, जेष्ठ ६, २०७९

‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’


कान्तिपथ


यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ ।

मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ । आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ ।

यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । साथै यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा १८ सहसचिवको नेतृत्वमा टोली खटिएको उहाँले बताउनुभयो ।

यसबाहेक निगरानीका लागि जिल्लामा मुख्य अधिकृतको नेतृत्वमा संयन्त्र र पालिकामा निर्वाचन अधिकृतको नेतृत्वमा संयन्त्र छ । मौन अवधि उल्लङ्घन गर्नेलाई आयोगले रु एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको सजायको निर्णय गर्न सक्ने अधिकार रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत